ईपीएलमा आज पनि दुई खेल हुँदै, हिमालय टेलिभिजनमा प्रत्यक्ष हेर्न सकिने

१४ असोज २०७८ काठमाडौं । काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लीग (ईपीएल) क्रिकेटमा आज पनि दुई खेल हुने भएका छन्।
त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं किङ्स–११ र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ। काठमाडौं र चितवनबीचको खेल बिहान ९.३० बजे शुरु हुनेछ।
सन्दीप लामिछानेको कप्तानीमा रहेको काठमाडौं दोस्रो जितको खोजीमा रहेको छ। काठमाडौंले पहिलो खेलमा ललितपुर प्याट्रीयट्सलाई हराएको थियो।
सोमपाल कामीको कप्तानीमा रहेको चितवनसमेत दोस्रो जितको खोजीमा हुनेछ। पहिलो खेलमा चितवनले विराटनगर वारियर्सलाई हराएको थियो।
यस्तै दोस्रो खेलमा भैरहवा ग्लाडियटर्स र ललितपुर प्याट्रीयट्स बीच प्रतिस्पर्धा हुनेछ। भैरहवा र ललितपुरबीचको खेल दिउँसो १.३० बजे शुरु हुनेछ।
शरद भेषवाकरको कप्तानीमा मैदान उत्रने भैरहवा दोस्रो जित निकाल्न चाहन्छ। भैरहवाले बुधबार विराटनगर वारियर्सलाई हराएको थियो। त्यसअघि भैरहवाले पोखरा राइनोजसँग अंक बाँडेको थियो।
ललितपुर भने पहिलो जित निकाल्न चाहन्छ। ललितपुरले दुई खेलमा अंक जोड्न सकेको छैन। ललितपुर बुधबार पोखरासँग पराजित भएको थियो।
प्रतिक्रिया