खेलकूद

ईपीएल : विराटनगरविरुद्ध भैरहवा ६ विकेटले विजयी

हिमालय टिभी
२०७८ असोज १३ गते १७:११
ईपीएल : विराटनगरविरुद्ध भैरहवा ६ विकेटले विजयी

१३ असोज २०७८ काठमाडौं । एभरेष्ट प्रिमियर लीग (ईपीएल) अन्तर्गत आज भएको दोस्रो खेल भैरहवा ग्लाडियटर्सले ६ विकेटले जितेको छ ।

विराटनगर वारियर्सले दिएको ९० रनको झिनो लक्ष्य भैरहवाले १५ ओभर ३ बलमा ४ विकेट गुमाएर भेट्टायो । भैरहवाका लागि ओपनर प्रदीप ऐरीले सर्वाधिक २२ रन जोडे । २३ बलमा ३ चौका प्रहार गरेका प्रदीप पाँचौं ओभरमा करन केसीको बलमा सिकन्दर राजाबाट क्याच आउट भए ।

भैरहवाका लागि बंगलादेशी खेलाडी तमिम इकवालले र रोहित पौडेलले समान १२–१२ रन बनाए । १६ औं ओभरको तेस्रो बलमा अनिल शा को बलमा श्रीलंकी खेलाडी उपुल थरंगाले चौका प्रहार गर्दै भैरहवालाई ६ विकेटको जित दिलाए । बलिङमा विराटनगरका रामनरेश गिरीले २ विकेट लिए । त्यस्तै, करन केसी र बसन्त रेग्मीले १–१ विकेट लिए ।

यसअघि टस गुमाएर पहिले ब्याटिङ गरेको विराटनगर १७ ओभर ४ बलमा ८९ रनमा अलआउट भयो । खराब सुरुवात गरेको विराटनगरले पहिलो ओभरमै ओपनर हेमराज चन्द्रपाउललाई शुन्यमा गमायो । छैटौं ओभरमा २३ रन बनाउँदा विराटनगरले दोस्रो विकेट गुमायो ।

यस पटक तीव्र गतिका बलर दुर्गेश गुप्ताले अर्का ओपनर आसिफ शेखलाई ११ रनमा बोल्ड आउट गरे । भैरहवाको धारिलो बलिङसामु धर्मराएको विराटनगरको ब्याटिङ लाईनअफ सम्हाल्न तेस्रो नम्बरमा आएका ब्याटर दिलशान मुनाविराले सर्वाधिक २५ रन बनाए ।

दशौं ओभरको अन्तिम बलमा आरिफ शेखको बलमा उनी अभिनाष बोहराबाट क्याच आउट भए । त्यसपछि आएका ब्याटर चल्न नसक्दा विराटनगर ८९ रनमै अलआउट भयो । बलिङतर्फ भैरहवाका आरिफ शेख र धाम्मिका प्रसादले ३–३ विकेट लिए । त्यस्तै, अभिनाष बोहराले २ विकेट लिँदा दुर्गेश गुप्ता र कृष्ण कार्कीको नाममा १–१ विकेट रह्यो ।

यसअघि पोखरा राइनोजले ललितपुर प्याट्रीयट्सलाई ९ विकेटले पराजित गर्दै चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जीत दर्ता गराएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा ललितपुरले दिएको ५२ रनको सामान्य लक्ष्य पोखराले ६ दशमलव ३ ओभरमा एक विकेट गुमाएर भेटायो । पोखराको जीतमा रिचार्ड लेभीले अविजित रहदै ३८ रनको योगदान दिए । उनले २२ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

त्यस्तै रित गौतमले १२ तथा साहन अराचिगे १ रनमा अविजित रहे । बलिङतर्फ ललितपुरका अज्मातुल्लाह ओमार्जाइले एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले निर्धारित ७ ओभरमा ६ विकेट गुमाएर ५१ रनको योगफल बनाएको थियो । ललितपुरका लागि सन्दुन वीराक्कोडीले सर्वाधिक १९ रन बनाउदा ओशाडा फर्नान्डोले अविजित १० रन जोडे ।

नारायण जोशी ११ तथा कप्तान कुशल भुर्तेल ३ रनमा आउट भए । पवन सर्राफले ५ रन जोड्दा अज्मातुल्लाह ओमार्जाईले १ रन बनाए । सन्दीप जोरा शून्य रनमा आउट हुँदा राशिद खान शून्य रनमा अविजित रहे ।

ललितपुरलाई सस्तैमा समेट्नक्रमा पोखराका नन्दन यादवले ३ विकेट लिए भने विक्रम सोबले २ तथा केस्रिक विलियम्सले १ विकेट झारे । वर्षाको कारण आउटफिल्ड भिजेकाले खेल करिब दुई घण्टापछि सुरुवात भएको थियो । जसमा निर्धारित २० ओभरको खेललाई सात ओभरमा घटाइएको थियो । यस जीतसँगै पोखरा तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पोखराले २ खेलमा ३ अङ्क जोडेको छ ।

पोखराले पहिलो खेलमा भैरहवा ग्लाडीयटर्ससँग अङ्क बाँडेको थियो । वर्षाको कारण खेल रद्द भएपछि पोखराले एक अङ्क पाएको थियो । ललितपुरको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा ललितपुर काठमाडौँ किङ्स–११ सँग पराजित भएको थियो ।

यससँगै पहिलो खेलमा वर्षा बाधक हुँदा १–१ अंक बाँडेका पोखरा र भैरहवाले २ खेलबाट समान ३–३ अंक जोडका छन् । नेट रनरेटका आधारमा भैरहवा तालिकाको शीर्षस्थानमा उक्लिएको छ भने पोखरा दोस्रो स्थानमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्