समाज

सुनसरी : लागूऔषध कारोबार, ओसारपसार र प्रयोगको केन्द्र बन्दै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज १३ गते १६:३५
सुनसरी : लागूऔषध कारोबार, ओसारपसार र प्रयोगको केन्द्र बन्दै (भिडियो रिपोर्टसहित)

१३ असोज २०७८ सुनसरी । सुनसरी जिल्ला लागूऔषध कारोबार, ओसारपसार र प्रयोगको केन्द्र बन्दै जान थालेको छ । सप्तकोशी नदी र भारतसँग खुल्ला सीमा जोडिएका कारण सुनसरीमा लागूऔषधको अवस्था विकाराल बन्दै गएको हो ।

जिल्लामा लागूऔषध कसुरमा प्रतिमहिना ४० जनाको हाराहारीमा पक्राउ पर्ने गरेका छन् । यसले सुनसरीमा लागूऔषधको अवस्था कस्तो छ भनेर चित्रण गरेको छ ।

प्रदेश १ को सुनसरी लागूऔषधको ‘हव’ बन्दै जान थालेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको विगत दुई महिनाको मात्रै तथ्या‌क हेर्ने हो भने पनि अवस्था कहालिलाग्दो छ ।

गत साउन र भदौमा मात्रै सुनसरीमा लागूऔषधमा संलग्न ८० जना पक्राउ परेका छन् । असोज ६ गते जिल्ला प्रहरी कार्यालयमा एकै दिन १५ जना लागूऔषध सम्बन्धी कसुरमा पक्राउ भएकाहरुको म्याद थप भयो ।

लागू औषध कारोबारको आरोपमा दुई महिनामा सुनसरीमा पक्राउ परेका ८० जनामध्ये दुई जना महिला छन् । तर, यो संख्याका आधारमा महिलाहरु लागूऔषधमा संलग्न छैनन् भनेर भन्न भने नसकिने प्रहरीको बुझाई छ ।

बरु लागूऔषधको प्रयोगमा महिलाको सहभागिता पनि पुरुष सरह नै रहेको आशंका छ । अर्को कहालीलाग्दो कुरा त के भने लागूऔषध कसुरमा पक्राउ पर्ने अधिकांश युवा छन् । २५ वर्ष भन्दा कम उमेरका व्यक्ति नै बढी मात्रामा लागूऔषधको कारोबार, ओसारपसार र प्रयोगमा संलग्न भएको पाइएको छ ।

सुनसरीमा सबैभन्दा बढी धरान संवेदनशील मानिन्छ । तर, पछिल्ला केही महिनायता इटहरी लागू औषधको केन्द्र बन्दै गएको पाइन्छ । प्रयोगकर्ता कम भए पनि कारोबार र ओसारपसारमा संलग्न अधिक मात्रामा वृद्धि हुँदै गएका छन् ।

प्रदेशका पूर्वी पहाडी जिल्लाबाट लागूऔषध ढुवानी गर्न सप्तकोशी नदिलाई ‘ट्रान्जिट पोइन्ट’ बनाएको पाइन्छ । भारतसँग सीमा जोडिएको ६२ किलोमिटर क्षेत्रले पनि सुनसरीमा लागूऔषधको चहपहल बढाएको पाइन्छ । लागू औषधको प्रयोग, कारोबार र ओसारपसारविरुद्ध प्रहरीले थालेको अभियानमा नागरिकले पनि साथ दिए नयाँ पुस्ता यो दलदलबाट माथि उठ्न सक्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *