समाज

महोत्तरीमा सडकको दूरावस्थाले सास्ती भोग्दै यात्रु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ११ गते २०:२७
महोत्तरीमा सडकको दूरावस्थाले सास्ती भोग्दै यात्रु (भिडियो रिपोर्टसहित)

११ असोज २०७८ महोत्तरी । महोत्तरीमा सडकको दूरावस्थाले यात्रीहरुले सास्ती भोग्दै आएका छन् । जलेश्वरदेखि बर्दिवास पुग्ने सबभन्दा छोटो र सिधा सडक नै जिर्ण हुदा यात्रीहरु थप मारमा परेका छन् ।

जलेश्वरको बखरी चोकदेखि बर्दिवास सडक अन्य सडकको तुलनामा अत्यधिक जीर्ण छ । निर्माण कम्पनीको लापरबाहीले सडक तत्काल निर्माण सम्पन्न हुने छाँटकाँटसमेत देखिएको छैन ।

जलेश्वर–बर्दिवास ३९.६ किलोमिटर सडक निर्माणका लागि सडक सुधार तथा विस्तार आयोजना (आरआईडीपी)ले सन २०१८ को डिसेम्वर अन्तिममा शिवालय दिवा जेभी नामक कम्पनीलाई ठेक्का दिएको थियो । कम्पनीले सडक निर्माण अवधि ३६ महिनामध्ये ३३ महिनामा करिब २२ प्रतिशत काम मात्र गरेको छ । सडक निर्माणको काममा लापरवाही हुँदा यात्रुले सास्ती खेप्दै आएका छन् ।

कम्पनीको लापरबाही र सरोकारवाला निकायको मौनताले सडक निर्माण अलपत्र परेपछि स्थानीयबासिन्दाले चक्काजाम गरेर विरोध जनाएका छन् । तर कन्सलटेन्सी कम्पनीको भने आफ्नै राम कहानी छ ।

समयमै काम सम्पन्न गर्न चासो नदेखाएको निर्माण कम्पनीलाई सडक सुधार तथा विस्तार आयोजनाले थप १४ महिनाको म्याद दिएको छ ।

शिवालय दिवा जेभीलाई जलेश्वर बर्दिवास सडक खण्डमात्र नभई जलेश्वर नगरक्षेत्र भित्रको १५.६१ किलोमिटर, सिरहाको १५ किलोमिटर र राजविराजको १५ किलोमिटर गरी कुल ८७.६१ किलोमिटर सडक दुई अर्ब आठ करोडमा लागतमा निर्माणको जिम्मा दिइएको छ । एउटै प्याकेजमा निर्माणको जिम्मा पाएको जेभीले हालसम्म पुरै प्याकेजको करिव ३२ प्रतिशत काम सकेर ५८ करोड भुक्तानी लिइसकेको छ । कन्सलटेन्ट कम्पनीले भने निर्माण कम्पनीलाई दबाब दिइरहेको दाबी गर्छ ।

केही महिनादेखि पूर्ण रुपमा काम ठप्प पारेको निर्माण कम्पनीले दशै आउनै लाग्दा थप रकम हातपार्न २.४ जना कामदार सडकमा खटाएको देखिन्छ । सडकको दूरावस्थाले उपभोक्ताले चरम सास्ती बेहोरिरहँदा निर्माण कम्पनी र सरोकारवाला निकायहरु भने सेटिङमा मस्त देखिन्छन् ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *