खेलकूद

वर्षाका कारण ईपीएलका आजका दुवै खेल शुरु नै नभइ स्थगित

हिमालय टिभी
२०७८ असोज ११ गते १५:१५
वर्षाका कारण ईपीएलका आजका दुवै खेल शुरु नै नभइ स्थगित

११ असोज २०७८ काठमाडौं । एभरेष्ट प्रिमियर लीग (ईपीएल) अन्तर्गत आज हुने तय भएका दुवै खेल शुरु नै नभइ स्थगित भएका छन् । यी दुवै खेल रद्ध गर्ने कि फेरि खेलाउने भनेर आयोजकले अहिलेसम्म केही बताएको छैन ।

मैदान भिजेका कारण काठमाडौं किङ्स इलाभेन र विराटनगर वारियर्सबीचको खेल टस समेत नभई स्थगित भएको हो । काठमाडौं र विराटनगरबीचको बिहान ९ बजे हुनुपर्ने खेलका लागि दुई घण्टासम्म पनि मैदान नसुकेपछि अम्पायरले खेल स्थगित गर्ने निर्णय गरे । खेल अर्को दिन गर्ने विषयमा आयोजकले छलफल गर्नेछ ।

पहिलो खेलमा साविक विजेता ललितपुर प्याट्रियट्सलाई ७ विकेटले हराउँदै शान्दार सुरुवात गरेको काठमाडौं दोस्रो जितको लक्ष्यमा थियो ।

खेल स्थगित भएसँगै काठमाडौंका विश्व चर्चित खेलाडी पाकिस्तानी क्रिकेट टोलीका पूर्व कप्तान शाहिद अफ्रिदीको ईपीएल यात्रा पनि सकिएको छ । दुई खेलका लागि काठमाडौं आएका उनी आजै पाकिस्तान फर्कँदैछन् । उनी प्रतियोगिताको उद्घाटन खेलमा ललितपुरविरुद्ध खेलेका थिए ।

४ ओभर बलिङ गर्दा ३२ रन खर्चेका अफ्रिदीले ब्याटिङ भने गर्नु परेन । अब उनको स्थानमा विदेशी खेलाडीका रुपमा सिंगापुरका अलराउन्डर जनक प्रकाशले खेल्नेछन् ।

त्यस्तै भैरहवा ग्लाडियटर्स र चितवन टाइगर्सबीच आजै हुने तय भएको दोस्रो खेलमा पनि वर्षा बाधक बनेको छ । चिसो मैदानका कारण ढिला गरी खेल शुरु गर्ने तयारी भए पनि दिउँसोको वर्षाले पुन मैदान भिजेपछि खेल पनि स्थगित गरिएको हो ।

खेल मैदानको अवस्थाका कारण अम्पायरले दुवै टोली भैरहवाका कप्तान शरद भेषावकर र चितवनका सोमपाल कामीसँग छलफलपछि खेल स्थगित गरेका हुन् ।

चितवनले पहिलो खेलमा विराटनगर वारियर्सलाई २ विकेटले हराएको थियो । भैरहवा ग्ल्याडियटर्सले भने आफ्नो पहिलो खेल वर्षाको कारण पोखरा राइनोजसँग अंक बाँडेको थियो ।

६ शहरका फ्रेन्चाइज टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको विजेताले ५० लाख र उपविजेताले १५ लाख पाउने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्