खेलकूद

ईपीएलको तयारी पूरा : मैदान व्यवस्थापन र तयारीमा छैन कन्जुस्याँई (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ८ गते २०:५४
ईपीएलको तयारी पूरा : मैदान व्यवस्थापन र तयारीमा छैन कन्जुस्याँई (भिडियो रिपोर्टसहित)

८ असोज २०७८ काठमाडौं । चौंथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) भोलिदेखि त्रिवि क्रिकेट मैदानमा हुँदैछ ।

विगतका संस्करण भन्दा राम्रो तयारी र व्यवस्थापन गरेको आयोजकले यस पटक प्रत्येक टोलीमा टेष्ट मान्यता प्राप्त देशका खेलाडी अनिवार्य गरेको छ । र खेलका लागि विश्व चर्चित खेलाडी नेपाल आइसकेका छन् । उनीहरुको आतिथ्यका लागि आयोजकले मैदानको व्यवस्थापन र तयारीमा कुनै कन्जुस्याँई गरेको छैन् ।

तयारीका क्रममा रोलर र घाँस काट्ने मेसिनको आवाज एकोहोरो बजिरहेको यो मैदान अबको १५ दिन चौका र छक्काले गुजायमान हुने छ । घरेलु प्रतियोगिताकै सफल र बहुप्रतिक्षित फ्रेन्चाइज क्रिकेट एभरेष्ट प्रिमियर लिग (ईपीएल) यही मैदानमा शुरु हुँदैछ ।

त्यसैले स्तरीय खेलाडी र स्तरीय प्रतियोगिताका लागि मैदानको व्यवस्थापन पनि सोही अनुसार गरिएको छ । र त्रिवि क्रिकेट मैदान अहिले ईपीएलमा खेलाडीको स्वागतका लागि तम्तयार छ ।

प्रतियोगिताका लागि दुई सातादेखि मैदान तयारीको काम शुरु गरेका थिए । मैदानको मुख्य भाग पिचदेखि आउटफिल्डसम्मको काम पूरा भइसकेको छ । वर्षाका कारण मैदानको दक्षिण भाग केही हिलाम्य भए पनि पछिल्लो दिनमा मौसम सुधार हुँदा अहिले खेल्न योग्य भएको छ । पिच र आउट फिल्डको सबै काम सकिएको छ भने अब अन्तिम स्वरुपमात्र दिन बाँकी छ ।

लगातार एउटै पिचमा खेलाउँदा मैदानलाई भार पर्न सक्छ । त्यसैले त्यो भार घटाउन यहाँ ३ वटा पिच तयार पारिएको छ ।खेलाडीका लागि चेन्जिङ रुप र डग आउटको काम भइसकेको छ ।

मैदानको मुख्य प्रवेशद्धारदेखि मैदानसम्म जाने बाटोमा प्रतियोगिताको भव्यता झल्किने गरी आकर्षक बनाइएको छ । दर्शकका लागि प्याराफिटमा तयार गर्ने र रंगरोगन गरिएको छ । भिआईपी भिभिआईपि, मिडिया बक्स तयार भइसकेको छ भने प्रत्यक्ष प्रसारणका लागि प्राविधिक तयारी सम्पन्न भइसकेको छ ।

६ वटा शहरका फ्रेन्चाइज टोलीहरुले पनि सबै खेलाडीहरुलाई क्याम्पमा राख्दै अभ्यास गरिरहेका छन् । विश्व प्रसिद्ध खेलाडीको सहभागिता हुने प्रतियोगिताका लागि खेलाडी र मैदानको सुरक्षाका लागि सम्पूर्ण व्यवस्था भइसकेको आयोजकले जनाएको छ ।

ललितपुर प्याट्रियट्स, भैरहवा ग्ल्याडीएटर्स, काठमाडौँ किङ्स इलाभेन, चितवन टाइगर्स, बिराटनगर वारियर्स, पोखरा राइनोज गरी ६ टोलीबाट १०० भन्दा बढी खेलाडी यस प्रतियोगितामा सहभागी हुँदैछन् । प्रतियोगिताको विजेतालाई ५० लाख र उपविजेताले १५ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्