खेलकूद

विश्वकपमा स्थान बनाउने लक्ष्यसहित महिला क्रिकेट टिम प्रशिक्षणमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ८ गते १७:२१
विश्वकपमा स्थान बनाउने लक्ष्यसहित महिला क्रिकेट टिम प्रशिक्षणमा (भिडियो रिपोर्टसहित)

८ असोज २०७८ सुनसरी । आईसीसी महिला ट्वेन्टी–ट्वेन्टी विश्वकपमा स्थान बनाउने लक्ष्यसहित आजदेखि नेपाली टिमले प्रशिक्षण शुरु गरेको छ । सुनसरीको इटहरीमा नेपाली टिमले प्रशिक्षण शुरु गरेको हो ।

गत संस्करणमा थाइल्याण्डसँग पराजयका कारण दोस्रो चरणको छनोट प्रतियोगिता खेल्न नसकेको नेपाल यो पटक भने राम्रो तयारी गर्दै पहिलो पटक विश्वकप खेल्ने लक्ष्यमा छ ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने आईसीसी महिला ट्वेन्टी–ट्वेन्टी विश्वकपमा १० टिमको सहभागिता रहनेछ । आयोजक र वरियता क्रमका शीर्ष सात टिम गरी आठ वटा टेस्ट राष्ट्रले सोझै खेल्न पाउनेछन् ।

बाँकी रहेको दुई स्थान पाउनका लागि युरोपका पाँच, पूर्वी एसिया प्यासिफिकका आठ, अफ्रिकाबाट एघार, दक्षिण र उत्तर अमेरिकाबाट चार र एसियाबाट आठ गरी कुल ३४ टिमले आफ्नो क्षेत्रीय छनोट खेलेर ग्लोबल छनोटमा स्थान बनाउनेछन् ।

क्षेत्रीय छनोट प्रतियोगिताबाट सात र थप एक उत्कृष्ट टिमको सहभागिता रहने ग्लोबल छनोट पार गरेर दुई टिमले दक्षिण अफ्रिकाको टिकट पाउनेछन् । यो लामो र संघर्षपूर्ण प्रतिष्पर्धा पार गरेर पहिलो पटक महिला ट्वेन्टी–ट्वेन्टी विश्वकप खेल्ने सपना बोकेर नेपाली महिला टोलीले प्रशिक्षण सुरु गरेको छ ।

नोभेम्बरमा हुने छनोट प्रतियोगिताका लागि पर्याप्त समय पाउने र खेलाडीले पर्याप्त म्याच एक्सपोजर पाएका कारण नेपालको मलेसिया भ्रमण फलदायी हुने विश्वास प्रशिक्षक जगत टमाटाको छ ।

अघिल्लो संस्करण हतार हतारमा जाँदा नेपाली टिमले न त राम्रो प्रशिक्षण पाएका थिए, न त पर्याप्त म्याच नै खेल्न पाए । अहिले खेलाडीका लागि दुई महिनाको समय छ ।

साथै देशमा आयोजना भएका फ्रेन्चाइज लिग र राष्ट्रिय प्रतियोगिताका कारण खेलाडीको स्तर र आत्मविश्वस दुबै बढेको छ । जसले मलेसिया भ्रमण सफल पार्न सहयोग पुग्ने कप्तान रुविना क्षेत्रीको विश्वास छ ।

अहिले टिमले दैनिक दुई चरणमा चार घण्टा प्रशिक्षण गर्न थालेको छ । खेलाडीको फिटनेस स्तर बढाउँदै उनीहरुको प्रदर्शनमा निखार ल्याउन प्रशिक्षक टमाटा पनि मेहनत गरिरहेका छन् ।

टिममा अनुभवी खेलाडी पनि छन् । टेस्ट राष्ट्रलाई छोड्ने हो भने महिला क्रिकेटमा एसिया पावर हाउस मानिन्छ । त्यसैले एसिया छनोट प्रतियोगितामा राम्रो प्रदर्शन गरेमा विश्वकप खेल्ने लगभग निश्चित हुनेछ ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्