आर्थिक

चालु वर्षमा आर्थिक वृद्धिदर ४.१ मा सीमित हुने एडीबीको प्रक्षेपण

हिमालय टिभी
२०७८ असोज ६ गते १६:५७
चालु वर्षमा आर्थिक वृद्धिदर ४.१ मा सीमित हुने एडीबीको प्रक्षेपण

६ असोज २०७८ काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले नेपालमा चालु आर्थिक वर्ष २०७८–७९ को आर्थिक वृद्धिदर ४.१ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।

बैंकले सार्वजनिक गरेको प्रक्षेपणमा नेपालको आर्थिक वृद्धिदर ४.१ मात्र हुने देखाएको हो। सरकारले प्रतिस्थापन बजेटमार्फत चालु आर्थिक वर्षमा ७ प्रतिशत हाराहारी आर्थिक वृद्धिदर हुने भने पनि एडीबीले ४ प्रतिशतमै सीमित हुने प्रक्षेपण गरेको हो ।

नेपालमा जारी कोरोनाविरुद्धको खोप अभियानले विकासको गतिमा ठूलो सहयोग हुने एसियाली विकास बैंकका नेपाल निर्देशक अर्नौड काचोइसले बताउनुभयो । जसले नेपालको आर्थिक सुधारका लागि समेत महत्वपूर्ण भूमिका खेल्ने काचोइसको भनाइ छ ।

कोरोना संक्रमण घट्दो क्रममा रहेको र आर्थिक गतिविधिमा सुधार भएकाले आर्थिक वृद्धिमा सहयोग पुग्ने एडीबीले बताएको छ ।

यो वर्ष धेरै वर्षा भएका कारण कृषि उपज धानबालीको उत्पादन बढ्ने, पछिल्ला महिनामा निर्यात वृद्धि , घरेलु उत्पादन बढेको कारण समेत जीडीपीमा योगदान हुने एडीबीको विश्वास छ ।

खुद्रा व्यापार, यातायात र वित्तीय सेवामा भइरहेको चलायमान अवस्थाले समेत आर्थिक वृद्धिमा सघाउ पुग्ने एडीबीले जनाएको छ ।

पर्यटकीय गतिविधि समेत खुला भएको अवस्थामा सेवा क्षेत्रले समेत आर्थिक वृद्धिमा टेवा पुर्‍याउन सक्ने एडीबीको भनाइ छ । यो वर्ष मुद्रास्फिति भने ५।२ प्रतिशतसम्म पुग्ने अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *