समाज

बाँके राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेसँगै स्थानीयमा त्रास (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ६ गते १५:४०
बाँके राष्ट्रिय निकुञ्जमा पाटेबाघको संख्या बढेसँगै स्थानीयमा त्रास (भिडियो रिपोर्टसहित)

६ असोज २०७८ बाँके । बाँके राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटेबाघको संख्या बढेसँगै यिनीहरुको गतिविधि पनि बढ्दै जान थालेको छ । निकुञ्ज क्षेत्रका राजमार्गमा मात्र नभइ गाउँबस्तीमा समेत बाघको आक्रमणबाट स्थानीयको ज्यान जान थालेपछि त्रास बढ्दो छ ।

पछिल्लो एक साता यता पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको गाभर क्षेत्रमा दुर्लभ पाटेबाघको गतिविधि बढ्दै गएको हो । बाँके राष्ट्रिय निकुन्जका कर्मचारीले मात्रै नभएर स्थानीय र राजमार्गमा यात्रा गर्ने यात्रुहरुले पनि पाटेबाघ देखेको बताउँछन् । निकुन्ज क्षेत्रमा पर्ने राप्ती सोनारी गाउँपालिकाको गाभर र सौरी क्षेत्रको जंगलमा मात्रै चार वटा पाटे बाघ भेटिएका छन् ।

पाटेबाघको बढ्दो गतिविधिसँगै यसले स्थानीयलाई आक्रमण गर्ने क्रम पनि बढ्न थालेको छ । निकुन्ज क्षेत्रमा बाघको आक्रमणबाट अहिलेसम्म ३ जनाको मृत्यु भएको छ ।

क्यामेरा ट्रयापिङ प्रविधिबाट खिचिएका चार वटा बाघमध्ये तीन वटा यस अघिको गणनामा पनि रेकर्ड भइसकेका बाघ हुन् । एउटा बाघ भने नयाँ हो । चार वटै बाघ वयस्क उमेरका छन् । निकुन्जमा बाघको संख्या बढेपछि आहाराको खोजीमा राजमार्ग छेउछाउका घरपालुवा जनावर चर्ने क्षेत्रमा आउन थालेको हो । जंगलमा चरिचरण नियन्त्रण नहुँदासम्म बाघको आक्रमणको जोखिम कायमै रहने देखिन्छ ।

पूर्व पश्चिम राजमार्गको करिब ७२ किलोमिटर क्षेत्र बाँके निकुन्जसँग जोडिएको क्षेत्रमा दुई दर्जन भन्दा धेरै गाउँ छन् । मानिसलाई आक्रमण गर्ने बाघको पहिचान गरी तत्काल नियन्त्रणमा लिई थप मानवीय क्षति हुनबाट रोक्न जनप्रतिनिधिले निकुन्ज प्रशासन समक्ष माग गरेका छन ।

स्थानीय बासिन्दाको मागपछि निकुन्ज प्रशासनले मानिसलाई आक्रमण गर्ने पाटे बाघ नियन्त्रणमा लिने प्रयास गरे पनि त्यो सफल हुन सकेको छैन । पाटेबाघको संरक्षणका लागि ११ बर्ष पहिले स्थापना भएको बाँके राष्ट्रिय निकुञ्जमा अहिले २१ वटा दुर्लभ पाटे बाघ छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *