सरकारसामू पूँजीगत बजेट बढाउने चुनौती रहेको अर्थमन्त्रीको प्रष्टीकरण (भिडियो रिपोर्टसहित)
५ असोज २०७८ काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सरकारसमक्ष पूँजीगत बजेट बढाउने चुनौती रहेको बताउनुभएको छ ।
काठमाडौंमा आज मन्त्री शर्माले विभिन्न समयमा फरक लक्ष्य लिए पनि त्यो हासिल गर्ने बाटो सरकार र मन्त्री नै पिच्छे परिवर्तन हुँदा विकास खर्च बढाउन नसकिएको बताउनुभयो । समग्र विकास रणनीति स्पष्ट नहुनु मुख्य समस्या रहेको उहाँको भनाई छ ।
अर्थमन्त्री शर्माले योजनाहरु नेतामुखी र मन्त्रीमुखी बनाइँदा समयमै सम्पन्न हुने सम्भावना कम हुने बताउनुभयो । खर्च गर्ने अधिकार केन्द्रमा सीमित हुँदा योजनाको समयावधी लम्बिने गरेको भन्दै उहाँले सम्बन्धित ठाउमै बजेट थपघट र हेरफेर गर्न सक्ने अधिकार सम्बन्धित निकायमा दिइनुपर्ने उल्लेख गर्नुभयो ।
हरेक महिना १० प्रतिशतका दरले विकास खर्च हुने गरी नीति बनाउने प्रयासमा आफू लागेको मन्त्री शर्माको भनाइ छ ।
वैदेशिक लगानी बढाउन राष्ट्रिय हितलाई ध्यानमा राखेर उदार नीति अपनाउनुपर्नेमा मन्त्री शर्माको जोड छ ।
प्रतिक्रिया