समाज

पर्यटक आकर्षित गर्न धार्मिक र पर्यटकीय क्षेत्रमा लगानी बढाउँदै स्थानीय तह (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ५ गते १४:५७
पर्यटक आकर्षित गर्न धार्मिक र पर्यटकीय क्षेत्रमा लगानी बढाउँदै स्थानीय तह (भिडियो रिपोर्टसहित)

५ असोज २०७८ पाल्पा । पाल्पाका स्थानीय तहले धार्मिक पर्यटकीय महत्व बोकेका क्षेत्रमा भौतिक संरचना विस्तारमा लागि परेका छन् । आन्तरिक पर्यटकलाई आकर्षित गरी चहलपहल ल्याउन स्थानीय तहले लगानी गर्न थालेका हुन् ।

पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नम्बर ४ तिलकथान पार्कमा भौतिक संरचनाको विकास गरी पर्यटकीय गन्तव्य बनाउन थालिएको छ । गाउँपालिकाले पोखरी, प्रतिक्षालय र बालबालिकालाई खेल्न पिङ्ग, पैदल मार्ग, रेलिङ, तिलकथान मन्दिर, भवन लगायतका संरचनाले आन्तरिक पर्यटकलाई लोभ्याएको छ ।

हिमाल तथा तराईका सुन्दर फाँटको दृश्यावलोकन गर्न सकिने तिलकथानमा गर्मीमा शीतल र जाडो महिनामा घमाइलो हुन्छ । तिलकथान वन भोजका निम्ति उपयुक्त छ । तर कोरोना संक्रमणले गर्दा आन्तरिक पर्यटकको उपस्थिति कम छ ।

गाउँपालिकाले तिलकथान पार्कलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न थालेको छ । दुई वर्षदेखि तिलकथानको विकासका लागि बजेट खर्चिएको छ । चालु आर्थिक वर्ष पार्कलाई कम्पाउन्ड घेर्ने योजना रहेको छ ।

रैनादेवी छहरा गाउँपालिकालाई धार्मिक तथा कृषि पर्यटनसँग जोडेर काम भइरहेको छ । शान्तिका प्रतीक गौतम बुद्ध भूमि लुम्बिनी–बल्ढेङगढी, बल्ढेङगढी हुँदै रुरु क्षेत्र रिडीस्थित ऋषिकेश मन्दिरसम्म सडक कालोपत्रे गर्ने काम शुरु भएको छ । सडकको सहज पहुँचले धार्मिक तथा पर्यटकीय गन्तव्यसम्म पुग्ने सुविधा हुँदा यस क्षेत्रमा पर्यटकीय चहलपहल हुनेछ ।

धार्मिक, सामाजिक, सांस्कृतिक रुपमा महत्व बोकेका स्थानहरुलाई पर्यटक आकर्षित गर्न भौतिक संरचनाको खाँचो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *