आर्थिक

दशैँका लागि नयाँ नोट साटही शुरु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ४ गते २०:३०
दशैँका लागि नयाँ नोट साटही शुरु (भिडियो रिपोर्टसहित)

४ असोज २०७८ काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैं तिहारका लागि नयाँ नोट साट्न शुरु गरेको छ । राष्ट्र बैंकले आफ्नो केन्द्रीय कार्यालयसँगै प्रादेशिक र अन्य कार्यमार्फत नयाँ नोटको वितरण शुरु गरेको हो । विगतका वर्षहरुमा भन्दा यस वर्ष राष्ट्र बैंकले तीन अर्ब रुपँया बढी सटाइका लागि प्रबन्ध मिलाएको छ ।

रातो टीका र जमरा जस्तै नयाँ नोट पनि दशैंको सौन्दर्य हो । त्यसैकारण पछिल्ला १० वर्षदेखि नेपाल नेपाल राष्ट्र बैंकले दशैं–तिहारलाई लक्षित गरी नयाँ नोट वितरण गर्दै आएको छ । यस वर्ष पनि राष्ट्र बैंकले चाडपर्व लक्षित नयाँ नोट वितरण शुरु गरेपछि नागरिकहरु पुराना नोट बोकेर नयाँ नोट साट्न बैंकहरुमा पुगेका छन् ।

हुन त नयाँ नोटको मूल्य वा अस्तित्व विशेष हुने होइन । तर दशैंमा टीका र जमरासँगै दक्षिणाका रुपमा नयाँ नोट पाउँदा बालबालिका दंग पर्छन्, त्यसैकारण अभिभावकहरु नयाँ नोटको खोजीमा देखिन्छन् ।

कोरोना महामारीका कारण राष्ट्र बैंकले गत वर्ष नयाँ नोट साट्ने व्यवस्था मिलाएन । यसवर्ष पनि महामारीको दोस्रो लहर चलिरहेकै छ । त्यसैले नयाँ नोट साट्न जाँदा स्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

राष्ट्र बैंकका केन्द्रीय, प्रादेशिक र अन्य कार्यालयसँगै इजाजत पत्र बैंक तथा वित्तीय संस्थाले तोकेको शाखामार्फत समेत नयाँ नोट साट्न सकिने ब्यबस्था गरेको छ ।

यस पटकको दसैँमा सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट साट्न पाउँछन् । बजारमा करिब ३५ अर्ब बराबरको ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ नोट पठाएको राष्ट्र बैंकले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *