खेलकूद

कोरोना संक्रमण कम भएसँगै फर्किँदैछ नेपालगञ्जमा फेरि फूटबलको माहोल (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ४ गते १४:०२
कोरोना संक्रमण कम भएसँगै फर्किँदैछ नेपालगञ्जमा फेरि फूटबलको माहोल (भिडियो रिपोर्टसहित)

४ असोज २०७८ नेपालगञ्ज । कोरोना संक्रमणको जोखिमका कारण अन्य क्षेत्र जस्तै खेलकूद गतिविधि पनि ठप्प भए । तर संक्रमण कम भएसँगै सरकारले लगाएको निषेधाज्ञा हटाएको छ ।

योसँगै लामो समय रोकिएको खेल गतिविधि पुनः चलायमान हुन थालेका छन् । विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलाडीहरु सहभागी हुन थालेका छन् भने घरेलु प्रतियोगिताहरु पनि आयोजनाको क्रममा छन् । यस्तैमा नेपालगञ्जमा फेरी फुटबलको माहोल फर्किएको छ ।

यो नेपालगञ्ज रंगशाला । केही हप्ता अगाडिसम्म खण्डहरजस्तै देखिने यो रंगशाला नेपालगन्जका खेलप्रेमीको सक्रियतामा मर्मत गरेर प्रशिक्षण गर्न र खेल्न योग्य बनाइएको छ ।

कासेझाडीमा परिणत भएको रंगशाला सरसफाइ र व्यवस्थापन गरेर करिब एक वर्षपछि यहाँ मैत्रीपूर्ण फूटबल प्रतियोगिता आयोजना गरिएको छ । लामो समयदेखि घरभित्रै रहेका फूटबल खेलाडी र प्रशिक्षक मैदानमा फर्किन पाउँदा निकै उत्साहित छन् ।

यसै पनि खेलकूद सम्बद्ध निकायको बेवास्ताका कारण अलपत्र मैदान सरकारले जारी गरेको निषेधाज्ञापछि त सरसफाइ र मर्मत सम्भार समेत हुन सकेको थिएन ।

आठौं राष्ट्रिय खेलकूदका लागि तयार पारिएको रंगशाला खण्डहर जस्तै बनेपछि खेलाडी र प्रशिक्षकहरु निराश थिए । त्यसैले उनीहरु आफैँ मैदानको रेखदेख र मर्मत गरेर खेल गतिविधिलाई निरन्तरता दिने सोचमा पुगेका छन् ।

स्वास्थ्य मापदण्डको पालना गर्दै असोजको पहिलो हप्तादेखि फूटबलबाहेकका खेल गतिविधि सुचारु गर्ने तयारीमा क्षेत्रीय खेलकूद विकास समिति जुटेको छ ।

२०७६ फागुनमा करिब ४० लाख खर्च गरेर बरमुडा घास लगाइएको मैदान सरकारी निकायको वेवास्ताका कारण कासे झाडीमा परिणत भएको थियो ।

नेपाली सेनाको भैरवप्रसाद गण, फूटबल क्लब, खेलकूद विकास समितिको पहलमा फूटबल मैदान सरसफाई र मर्मत सम्भार गरेपछि अहिले खेल्न योग्य भएको छ । रंगशालामा अबदेखि नियमित फूटबल अभ्यास र प्रशिक्षण गर्ने योजना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्