बुटवलमा मेयर शिवराज सुवेदीमाथि कुटपिट (भिडियो रिपोर्टसहित)

४ असोज २०७८ बुटवल । बुटवल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि कुटपिट भएको छ ।
बुटवल वडा नम्बर ६ ज्योतिनगरको पहिरोले गरेको क्षतिको अवलोकनमा गएका सुवेदीमाथि स्थानीय एक युवाले मुक्का प्रहार गरेका हुन् ।
पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि पहिरो पीडितले मुक्का प्रहार गरेका हुन् । तर प्रहरी र नगर प्रहरीले मेयरलाई जोगाएका थिए ।
गत भदौ १३ र १४ गते अविरल वर्षासँगै खसेको पहिरोले ज्योतिनगरका १० घर पुरिएका थिए । ५० भन्दा बढी घर उच्च जोखिममा परेका छन् ।
पहिरोले विस्थापित भएको लामो समयसम्म पनि आफूहरुलाई कुनै उचित व्यवस्थापन नगरेकाले आक्रोशित भएर स्थानीयले हातपात गरेको बताइएको छ।
पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको थियो ।
पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडकमा क्षति पुर्याउनुका साथै त्यहाँ रहेको बिजुलीको पोल पनि बगाएको थियो । २०५६ सालमा पनि लक्ष्मीनगर र ज्योतिनगरमा पहिरो खस्दा ५० भन्दा बढी घर विस्थापित भएका थिए ।
प्रतिक्रिया