समाज

वस्ती विस्तारको असर–सुख पाउने आशामा तराई झरेकालाई यस्तो सास्ती (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ असोज ३ गते १७:१८
वस्ती विस्तारको असर–सुख पाउने आशामा तराई झरेकालाई यस्तो सास्ती (भिडियो रिपोर्टसहित)

३ असोज २०७८ दाङ । दाङमा अव्यवस्थित रुपमा मापदण्डविपरीत जग्गा खण्डीकरण गरी वस्ती विस्तार गरिएको छ । नयाँ ठाउँमा बसाइएको वस्तीमा खानेपानी, बिजुली, ढल निकास जस्ता आधारभूत व्यवस्थापन हुन नसक्दा सुख पाउने आशामा तराई झरेकाले सास्ती भोग्दै आएका छन् ।

खानेपानीको धारा जडान गर्ने भन्दै घोराही उपमहानगरपालिका वडा नम्वर १६ सर्रा गाउँको १ हजारभन्दा बढी घरबाट पाँच वर्ष अघि १५ हजार रुपैयाँका दरले पैसा उठाइएको थियो । तर खानेपानी कहिले आउँछ, अझै अत्तोपत्तो छैन। यहाँ वस्ती विस्तार भएको दशकौं भए पनि खानेपानीको काम हुन सकेको छैन ।

खानेपानी तथा सरसफाई कार्यालयले यो ठाउँमा खानेपानी विस्तारका लागि ४ वर्षअघि साढे ८ करोडको ठेक्का लगाएको थियो । तर ठेकेदारले फर्जी कागजपत्र पेश गरेको भन्दै रद्द गरी, फेरि ठेक्का लगाउने तयारी भएको छ । अहिले यहाँका बासिन्दा कुवा, खोलाको पानी खान बाध्य छन् ।

घोराही उपमहानगरपालिका १८ घोरदौरामा पनि खानेपानीको चरम समस्या छ । जग्गा खण्डीकरण गरी नयाँ ठाउँमा वस्ती विस्तार भएका दाङका दर्जनौं गाउँमा खानेपानीको समस्या छ । दाङका पहाडीगाउँ तथा सीमा क्षेत्रमा भने पहिलेदेखि नै समस्या छ ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय र घोराही उपमहानगरपालिका भने खानेपानीको समस्या भएका ठाउँमा काम भइरहेकाले समस्या चाँडै समाधान हुने दाबी गर्छन ।

बिजुली बत्ती, खानेपानी, ढल निकासको राम्रो व्यवस्थापन नै नगरी, मुनाफा कमाउने उद्देश्यले जग्गा कारोबारीले हचुवाको भरमा जग्गा प्लटिङ गरी वस्ती बसाउदा यी समस्या निम्तिएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *