मोटरसाइकलमा करको दर यसरी बढेको बढ्यै, मध्यम बर्ग यस्तो मारमा (भिडियो रिपोर्टसहित)

२ असोज २०७८ काठमाडौं । आम सर्वसाधरणले धेरै प्रयोग गर्ने सवारी साधन हो मोटरसाइकल । तर सरकारले यति धेरै कर लगाएको छ की उपभोक्ताको सानो कइले एउटा मोटरसाइकल किन्न सक्ने स्थिति छैन । सवारी साधनमा सरकारले लिने अचाक्ली करका कारण आम उपभोक्तालाई गाडी चढ्न मुस्किल बन्दै गएको छ ।
सार्वजनिक यातायात भरपर्दो र सर्वसुलभ नहुँदा शहर बजारमा मात्र हैन, गाउँघरमा पनि मोटर साइकल अत्यावश्यक साधन बनिसकेकोछ । तर मध्यम वर्गका नेपालीको आवश्यकता बन्दै गएको दुई पाङ्ग्रे सवारी साधनमा वर्तमान सरकारले अन्तःशुल्क मात्रै होइन सडक दस्तुर समेत बढाएको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयकमार्फत मोटरसाइकलमा अन्तःशुल्क ४० प्रतिशतबाट बढाएर ५० पुर्याउनुभएको छ । सडक दस्तुर समेत प्रत्येक मोटरसाइकलमा १५ हजारदेखि ५० हजारसम्म पुर्याइएको छ । यसले गर्दा मोटरसाइकल चढ्नेलाई मार परेको छ ।
देशमा वर्षैपिच्छे सवारी साधन बढ्दै गएका छन् । अझ नेपाल भित्रिने मोटर साइकलको संख्या त दिन दुई गुणा रात चौ गुणा बढिरहेको छ । मध्यम वर्गीय उपभोक्ताको बाध्यतालाई आफनो आय स्रोत बनाउँदै आएको सरकारकै कारण नागरिक मारमा परेका छन् ।
चाडपर्वका बेला नयाँ सवारी साधन किनबेचको सिजन हो । यही सिजनको मुखमा सरकारले अन्तःशुल्क र सडक दस्तुर बढाएपछि मोटरसाइकलको मूल्य झन्डै १५ प्रतिशत बढेको छ । यसले उपभोक्ता महँगोमा परेका छन् ।
सरकारले अहिले मोटरसाइकल भन्सार कर ३० प्रतिशत, अन्तशुल्क ५० प्रतिशत, मूल्य अभिवृद्धिकर १३ प्रतिशत उठाउँदै आएको छ । यस्तै सडक दस्तुर भनेर बाइकको सिसी अनुसार प्रत्येक मोटर साइकलसँग १५ हजारभन्दा बढी कर उठाउँदै आएको छ । यो सबै जोड्दा १ सय २० प्रतिशत भन्दा बढी हुन्छ ।
प्रतिक्रिया