चीनद्वारा अमेरिका, बेलायत र अष्ट्रेलियाबीच भएको सम्झौताको निन्दा

१ असोज २०७८ बेइजिङ । चीनले अमेरिका, अस्ट्रेलिया र बेलायतबीच भएको नयाँ परमाणु सम्झौताको निन्दा गर्दै त्यसले क्षेत्रीय शान्ति र स्थायित्वलाई कमजोर पार्ने बताएको छ।
चीनले उक्त सम्झौताले पारमाणविक अप्रसार कार्यलाई पनि आघात पुर्याउने बताएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजिआनले अस्ट्रेलियामा परमाणु ऊर्जाबाट चल्ने पनडुब्बीसम्बन्धी प्रविधि निर्यात गर्ने अमेरिका र बेलायतको निर्णयलाई एकदमै गैरजिम्मेवार कार्य भएको बताएका छन् ।
बेलायत, अमेरिका र अस्ट्रेलियाले गरेको उक्त परिष्कृत रक्षा प्रविधिहरू आदानप्रदान गर्ने विशेष सुरक्षा सम्झौता चीन लक्षित रहेको बताइएको छ। सम्झौताले अस्ट्रेलियालाई पहिलोपटक परमाणु ऊर्जाबाट चल्ने पनडुब्बी बनाउने बाटो खुला गरिदिएको थियो ।
ओकस भनिने उक्त सम्झौतामा बौद्धिक सम्पत्ती, क्वान्टम टेक्नोलोजी र साइबर पक्ष समेट्ने छ । इन्डो–प्यासिफिक क्षेत्रमा चीनको बढ्दो शक्ति र सैन्य उपस्थिति रोक्त तीन देशले सम्झौता गरेको भोलिपल्ट चीनको प्रतिक्रिया आएको हो ।
प्रतिक्रिया