आर्थिक

हल्दिया बन्दरगाहबाट वीरगञ्जको सिर्सिया सुख्खा बन्दरगाहसम्म रेल सेवा शुरु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ३० गते २०:५७
हल्दिया बन्दरगाहबाट वीरगञ्जको सिर्सिया सुख्खा बन्दरगाहसम्म रेल सेवा शुरु (भिडियो रिपोर्टसहित)

३० भदौ २०७८ वीरगञ्ज । वीरगञ्जको सुख्खा बन्दरगाहमा भारतीय निजी कम्पनीले रेलमार्फत सामान ढुवानी शुरु गरेको छ । नेपालका लागि भारतीय रेल कम्पनी हिन्द टर्मिनलले हल्दिया बन्दरगाहबाट वीरगञ्जस्थित सिर्सिया सुख्खा बन्दरगाहसम्म सेवा शुरु गरेको हो ।

हिन्द टर्मिनलको पहिलो रेल ९० ओटा कन्टेनरमा खाद्यान्न सामग्री लिएर वीरगञ्जस्थित सुक्खा बन्दरगाह आइपुगेको छ । तत्काल हप्तामा दुई दिन सेवा दिने तथा आवश्यकताअनुसार सेवा बढाउँदै जाने हिन्द टर्मिनलको सञ्चालक संस्था नेपाल इन्टर मोडल यातायात विकास समितिले जनाएको छ ।

नेपालमा रेल्वेमार्फत् मालसामान ढुवानीमा निजी सेवाप्रदायक आएपछि रेल्वे ढुवानीमा भारतीय कन्टेनर निगम कन्कोरको एकाधिकार अन्त्य भएको छ । यसले उद्योगी व्यवसायी उत्साही छन् ।

नेपाल इन्टरमोडल यातायात विकास समितिले पनि प्रतिस्पर्धात्मक वातावरण निर्माणका लागि नै निजी रेल कम्पनीको सेवा शुरु भएको बताएको छ ।

यसले नेपालको आयात–निर्यात व्यापारमा सकारात्मक परिवर्तन ल्याउने समितिको विश्वास छ । प्रतिस्पर्धा बढ्दै जाँदा हुने चापलाई मध्यनजर गर्दै बन्दरगाह विस्तारका क्षेत्रमा पनि काम हुने समितिको भनाइ छ ।

विश्व बैंकको ऋण सहयोगमा सन् २००० मा वीरगञ्जमा सिर्सिया सुख्खा बन्दरगाह बनेको थियो । त्यसपछि भारत सरकारको २० करोड अनुदान सहयोगमा रक्सौलदेखि बन्दरगाहसम्म रेल लिङ्क स्थापना भएको थियो ।

नेपाल र भारत सरकारबीच २१ मे २००४ मा रेल्वे सम्झौता भएको थियो । १७ डिसेम्बर २००८ मा फ्ल्याट वेगन कार्गो पनि आउन सक्नेगरी भारतसँग रेल्वे सम्झौता भएको थियो । जस अनुसार यसअघि कन्कोरले सामान ढुवानी गर्दै आएकोमा अब भने निजी क्षेत्रले पनि ढुवानी शुरु गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *