आर्थिक

एक महिनामा कति बढ्यो तरकारीको मूल्य ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ३० गते २०:४२
एक महिनामा कति बढ्यो तरकारीको मूल्य ? (भिडियो रिपोर्टसहित)

३० भदौ २०७८ काठमाडौं । पछिल्लो समय दैनिक उपभोग्य सामानको मूल्य बढेको छ । मूल्यवृद्धिका कारण उपभोक्ता मर्कामा छन् । उपभोक्ताको भान्सामा दैनिक पाक्ने तरकारीको भाउले झन एक महिनामै आकाश छोएको छ । तरकारीको मूल्य १ महिनाको अवधिमा कति बढ्यो त ?

कालिमाटी तरकारी तथा फलफूल विकास समितिले तयार पारेको साउन ३० देखि भदौ ३० सम्मको तरकारकीको थोक मूल्यसूचीलाई आधार मान्ने हो भने यो अवधिमा तरकारीको भाउ निक्कै बढेको छ । यो सूचीअनुसार साउन ३० गते करेला प्रतिकिलो १३ रुपैयाँमा विक्री भएको थियो । तर एक महिनाको अवधिमा यसको मूल्य साढे ५ गुणा बढेको छ । हो, एक महिनाअघि १३ रुपैयाँमा पाइने करेलाको थोक मूल्य अहिले ७० रुपैयाँ पुगेको छ ।

करेलाको मात्र हैन । अरु तरकारकीका भाउ पनि यस्तै गरी महँगो भएको छ । २५ रुपैयाँ प्रति केजीमा पाइने तने बोडीको भाउ भदौ ३० गतेसम्म आइपुग्दा झण्डै ३ गुणा बढेको छ । अहिले यसको मूल्य ७२ रुपैयाँ पुगेको छ ।

साउन ३० गते भिण्डी २१ रुपैयाँ प्रतिकिलोमा विक्री भएको थियो, भदौ ३० सम्म आइपुग्दा भिण्डीको मूल्य ५६ रुपैयाँ पुगेको छ । ।

रायोको साग साउन ३० गते ७६ रुपैयाँ केजी थियो, भदौ ३० गतेसम्म आइपुग्दा १ सय ८६ रुपैयाँ पुगेको छ । साग १ महिनाको अवधीमा झन्डै दोब्बर बढेको देखिन्छ ।

पालुंगोको भाउ पनि त्यतिकै बढेको छ । साउन ३० मा ७६ रुपैयाँ केजीमा विक्री भएको साग भदौ ३० सम्म आइपुग्दा २ सय ६५ पुगेको छ । यो मूल्य साढे ३ गुणा हो । तोरीको सागको मूल्य पनि एक महिनाको अवधिमा ५२ प्रतिशतले वृद्धि भएको छ ।

कालिमाटी तरकारी तथा फलफूल विकास समितिका अनुसार यो अवधिमा गोलभेडा, रातो आलु, सुकेको प्याज, सेतो मुला, स्कुस लगायतका तरकारीको मूल्य भने गत महिनाको तुलनामा केही घटेको देखिन्छ । तर समग्रमा भन्ने हो भने भाउ महँगो नै भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *