समाज

मदन भण्डारी अस्पताल : नाम त परिवर्तन भयो, सेवा भने झनै यस्तो दयनीय (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ३० गते १४:२०
मदन भण्डारी अस्पताल : नाम त परिवर्तन भयो, सेवा भने झनै यस्तो दयनीय (भिडियो रिपोर्टसहित)

३० भदौ २०७८ विराटनगर । सरकारले मोरङको उर्लाबारीस्थित मंगलबारे अस्पताललाई स्तरोन्नती गर्ने भनी गरेको निर्णय २ वर्ष भइसक्दा पनि कार्यान्वयन भएको छैन । अस्पतालको नाम परिवर्तन गरेर मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको रूपमा नाम परिवर्तन गरेको दुई वर्ष भएको छ । तर विकास र स्तरोन्नती हुन नसक्दा सेवा प्रभावित भएको छ ।

प्रदेश सरकारको २०७६ पुस २२ गते बसेको मन्त्रिपरिषद् बैठकले साविक १५ शैयाको अस्पताललाई विशेषज्ञ सेवासहितको ५० शैयामा स्तरोन्नति गरी आफू मातहत ल्याउने निर्णय गरेको थियो । सोही अनुसार अस्पतालको नाम परिवर्तन पनि गरियो ।

तर, अहिले पनि साविक १५ शैयाको अस्पतालका जनशक्तिबाटै स्वास्थ्य सेवा सञ्चालन भइरहेको छ । आवश्यक चिकित्सकको अभावमा भएका उपकरण पनि त्यसै थन्किएका छन् । अस्पतालमा गर्ने भनिएको परिवर्तन लेटरप्याड र छाप परिवर्तनमा मात्र सीमित छ ।

पूर्वपश्चिम राजमार्गसँग जोडिएको अस्पताललाई सवारी दुर्घटनामा परी घाइते भएकालाई तत्काल उपचार सेवा दिने अवधारणा अनुसार प्रदेश सरकारले आवश्यक जनशक्ति र उपकरणसहितको ५० शैयाको अस्पताल तथा ट्रमा सेन्टरका रुपमा पनि विकास गर्ने अवधारणा अघि सारेको थियो । काठमाडौंको वीर अस्पतालपछि उपत्यकाबाहिर पहिलो पटक ट्रमा सेन्टरको रुपमा अस्पताल बनाउने अवधारण कागजमै सीमित बनेको छ ।

प्रदेशकै गौरवको आयोजनाको रूपमा अत्याधुनिक प्रविधि र उपकरणसहित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको रूपमा विकास एवम् स्तरोन्नती गर्न प्रदेश सरकारले आर्थिक वर्ष २०७७–०७८ का लागि १ करोड रुपैयाँ बजेट छुट्याएको थियो । तर सो रकम फ्रिज भएको छ । चालु आर्थिक वर्षमा भने बजेट नै विनियोजन भएको छैन ।

मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा रूपान्तरित अस्पताल अहिले पनि करारका चिकित्सकको भरमा सञ्चालन हुँदै आएको छ । दरबन्दीका चिकित्सक नभएका कारण सेवा प्रवाह प्रभावित हुँदा बिरामी घण्टौंसम्म पालो कुर्न बाध्य छन् ।

यो अस्पतालमा पुर्वी मोरङसहित झापाका पश्चिमी भेगका गरी दैनिक ३ सय बढी विरामी उपचारका लागि पुग्ने गरेका छन् । तर अत्याधुनिक प्रविधि र उपकरण अभावसँगै यथोचित जनशक्ति व्यवस्थापन नहुँदा बिरामीहरुलाई अन्य ठुला अस्पताल रेफर गर्न गरिँदै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *