खेलकूद

सी डिभिजन लिग: खेल भावना विपरीतका कार्य गर्ने क्लबहरूबीच आरोप प्रत्यारोप (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २९ गते २०:४२
सी डिभिजन लिग: खेल भावना विपरीतका कार्य गर्ने क्लबहरूबीच आरोप प्रत्यारोप (भिडियो रिपोर्टसहित)

२९ भदौ २०७८ काठमाडौं । कुनै पनि खेलकुदमा विवाद सामान्य मानिन्छ । तर खेल भावनाविपरीतका कार्य हुनुलाई कुनै रुपमा पनि सामान्य मान्न सकिँदैन् । राजधानीमा जारी सी डिभिजन लिग छनोट खेलमा त्यस्तै खेल भावनाविपरीतका कार्य भएको सहभागी क्लबहरुले आरोप प्रत्यारोप गरिरहेका छन् ।

पछिल्लो समय सहभागी भक्तपुर फुटबल क्लबले पनि म्याच रेफ्रीको गतल निर्णयले आफूहरु छनोटबाट बाहिरिएको र यसलाई अखिल नेपाल फुटबल संघ एन्फाले ढाकछोप गरेको आरोप लगाएको छ ।

घरेलु खेलकुदमा खेल मिलेमतोको घटना र आरोप बेलबखत आईरहेका हुन्छन् । यस पटक पनि घरेलु फुटबलको शीर्ष डिभिजन पुग्ने पहिलो खुड्किलोका रुपमा रहेको सी डिभिजनमा खेल मिलेमतो भएको सहभागी क्लबहरुले आरोप प्रत्यारोप गरिरहेका छन् ।

गत सातामात्र सी डिभिजन लिग छनोटमा खेल मिलेमतो भएको आरोप सहभागी एक क्लबले लगायो । त्यसको केहि समय पछि फेरी अर्को एक क्लबले पनि उस्तै आशय व्यक्त गरेका छन् ।

गत शनिबार दिव्यश्वरी फुटबल क्लब र भक्तपुरबीच भएको खेलमा म्याच रेफ्रि विजय लामाले एक पक्षीय निर्णय गरेको क्लबका अध्यक्ष राम प्रजापतिले दाबी गरे । विपक्षी क्लबको प्रभावमा परि रेफ्रिले आफ्नो क्लबको गोल मान्यता नदिएको भक्तपुरका अध्यक्ष प्रजापतिले ठोकुवा गरे ।

खेल बराबरी भएसँगै भक्तपुर सी डिभिजनमा छनोट हुन असफल भयो । त्यस्तै, खेलको निर्णयका सम्बन्धमा एन्फामा प्रोटेस्ट गर्दा पनि गैर जिम्मेवारपूर्ण जवाफ पाएको उनले बताए । एन्फाले यस विषयमा तत्काल कुनै निर्णय नगरेमा कानुनी प्रक्रियामा जाने तयारी भक्तपुर फुटबल क्लबले गरेको छ ।

कुनै पनि खेलमा रेफ्रिको निर्णय नै अन्तिम रहने प्रावधान भएको एन्फाको तर्क छ । विश्वव्यापी रुपमै पनि रेफ्रिको निर्णय दुवै पक्षलाई समान रुपमा मान्य हुन नसक्ने भन्दै भक्तपुर क्लबको मागका विषयमा एन्फाले छानविन गर्ने लिग कमिटिका निर्देशक सञ्जिव मिश्रले बताए ।

भक्तपुर क्लब लगायत अन्य केहि क्बलहरुले रेफ्रिको निर्णयमा असन्तुष्टि जनाएको भन्दै एन्फाको ईन्टिग्रिटी अफिसर सहितको टोलीले यस विषयमा आवश्यक छानविन गरेपछि सत्यतथ्य बाहिर ल्याउने उनले बताए ।

यसअघि, पनि सी डिभिजन छनोट प्रतियोगिताकै क्रममा धादिङबाट सहभागी भएको शुभारम्भ युवा समाजले पनि खेल मिलेमतोको आशंका गर्दै एन्फामा छानविनका लागि निवेदन दिएको थियो ।

आफु रहेको समुह एफ अन्तर्गत इमाडोल युवा क्लब र लगनशिल युवा क्लबबीच भएको समुह चरणको अन्तिम खेलमा मिलेमतो भएको शुभारम्भ युवा समाजको आरोप छ । यस विषयमा इमाडोल युवा क्लबले विज्ञप्ति जारी गर्दै आरोपको खण्डन गरिसकेको छ ।

मिलेमतोको विषयमा क्लबहरुले आरोप लगाई रहँदा अभिभावक निकाय एन्फाले यस विषयमा अनुसन्धान गरि सत्यतथ्य बाहिर ल्याउनु जरुरी छ । यसअघि पनि घरेलु फुटबलका विभिन्न प्रतियोगितामा यस्ता विषय उठान भएपनि ठोस कदम चालिएको छैन् ।

यसले क्लबहरुको लाखौं लगानी डुबेको त छ नै खेलाडीको भविष्य माथिनै खेलबाड भईरहेको छ । खेल भावना विपरितका कुनै पनि कार्यमा एन्फा गम्भरी हुनु जरुरी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्