समाज

वडाध्यक्षले नै नक्कली जग्गाधनी खडा गरेर जग्गा बेचेपछि….(भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २९ गते १६:१२
वडाध्यक्षले नै नक्कली जग्गाधनी खडा गरेर जग्गा बेचेपछि….(भिडियो रिपोर्टसहित)

२९ भदौ २०७८ रुपन्देही । रुपन्देहीमा जग्गा धनीलाई नै थाहा नदिइ किर्ते गरी जग्गा विक्री भएको खुलासा भएको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नम्बर १० का गरीब कोहारको १० कठ्ठा १७ धुर जग्गा नक्कली नागरिकता र जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि बनाएर वडा अध्यक्षकै आफ्न्तले बेचिदिएका छन् । अहिले वडा अध्यक्ष र जग्गा बेच्ने नक्कली गरीब कोहार फरार छन् ।

नाम गरीब कोहार, उमेर ६९ वर्ष । रुपन्देहीको साँस्कृतिक नगरपालिका वडा नम्बर १० मधुवनीस्थित कित्ता नम्बर ४८८ र ५०७ का १० कठ्ठा १७ धुर जग्गाका धनी । तर कोहारलाई थाहा नदिई उहाँको जग्गा विक्री भएको छ ।

यो कसरी सम्भव भयो त ?
नक्कली जग्गा धनी खडा गरी नागरिकता प्रमाणपत्र, वडा कार्यालयको फोटो प्रमाणितसहितको किटानी सिफारिस, तिरो तिरेको रसिदसमेत मालपोत कार्यालय भैरहवामा पेश गरी जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि लिई जग्गा बेचिएको हो । यो काम अरु कसैको नभएर वडाध्यक्ष रमजान अली मियाँकै हो । मियाँले भारतमा रहेका आफ्नै ससुरालाई नक्कली नागरिकता, जग्गाधनी पुर्जा बनाइदिएर जग्गा बेचिदिइएको सक्कली गरीब कोहारको आरोप छ ।

नक्कली गरीब कोहारले २०७७ फागुन १८ गते पाल्पाका सन्दीप कार्कीलाई जग्गा बेचिदिएका छन् । यही जग्गा कार्कीले २०७८ साल वैशाख १२ गते कपिलवस्तुको यसोधरा गाउँपालिकाका गोविन्दप्रसाद कोहारलाई बेचिदिएका छन् । गोविन्द कोहारले यही जग्गा धितो राखेर ग्लोबल आईएमी बैंकबाट १ करोड ५० लाख कर्जा लिएको पाइएको छ ।

त्यही जग्गा नापजाँचका लागि मानिसहरु आउन थालेपछि बल्ल सक्कली गरीब कोहारलाई आफ्नो जग्गाको विषयमा चासो लाग्यो । चार किल्ला प्रमाणित गर्नका लागि वडा कार्यालयमा पुग्दा वडाध्यक्षले काम नगरिदिने र सँधियारलाई धम्काउन थाले । यसपछि बल्ल सक्कली गरीब र सँधियारले वडाध्यक्षकै मिलिमतोमा जग्गा बेचिएको थाहा पाए । जनताको काम गर्नका लागि निर्वाचित भएका वडाध्यक्षले नक्कली मान्छे खडा गरेर जग्गा बेचिदिएपछि स्थानीय बासिन्दा आक्रोशित छन् ।

अहिले वडाध्यक्ष र नक्कली गरीब कोहार फरार छन । जग्गा धनी श्रेस्ताको नोट र जग्गा धनी पुर्जामा फरक–फरक ब्यक्तिको फोटो छ । वडा कार्यालयले गरेको सिफारिसको आधारमा काम भएको भन्दै मालपोत कार्यालयका कर्मचारी पानी माथिको ओभानो बन्न खोजेका छन् । सबै प्रक्रिया मिलेको आधारमा काम भएको मालपोत कार्यालय भैरहवाको दाबी छ ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीले नक्कली गरीब कोहारको नागरिकता नक्कली भएको बताएको छ । नागरिकता बनाउनका लागि वडा कार्यालयबाट सिफारिस पनि नआएको र जिल्ला प्रशासन कार्यालयबाट नागरिकता जारी नभएको बताएको छ । यस घटनामा संलग्नहरुको खोजी कार्य र अनुसन्धान जारी रहेको प्रशासनले बताएको छ ।

वडाध्यक्ष कै सिफारिसमा सजिलै मालपोत कार्यालयबाट जग्गा पासको काम हुनु पनि शंकास्पद छ । नक्कली नागरिकता र जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि लिपि कसरी बन्यो ? यो पनि अनुसन्धानको विषय बनेको छ । जग्गा धनीलाई नै थाहा नदिइ किर्ते गरेर जग्गा विक्री हुनुमा कस्को दोष छ ? यसको अनुसन्धान गरेर किर्ते गरी जग्गा बेच्ने जो कोही भए पनि कानूनी कठघरामा उभ्याएर सक्कली गरीब कोहोरलाई न्याय दिलाउनु पर्दछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *