समाज

नाकाबन्दको असर, चोरबाटोबाट आउजाउ बढ्यो, राजश्व पनि गुम्दै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २८ गते १८:५०
नाकाबन्दको असर, चोरबाटोबाट आउजाउ बढ्यो, राजश्व पनि गुम्दै (भिडियो रिपोर्टसहित)

२८ भदौ २०७८ रुपन्देही । कोरोना भाइरसको संक्रमणदर कम भए पनि भारतसँगको सीमा नाका खुल्न नसक्दा चोरबाटो हुँदै आवतजावत बढेको छ ।

सामान्य दैनिक कामका लागि पनि अवैध बाटो प्रयोग गर्नु पर्दा सर्वसाधारणले त सास्ती खेप्दै आएका छन् नै चोरी निकासी बढ्दा करोडौँ रुपैयाँको राजस्व समेत गुमेको छ ।

यो गौतमबुद्धको जन्मस्थल लुम्बिनीबाट करिब १० किलोमिटर नजिकै रहेको कक्रहवा नाका हो । यो नाका अहिले बन्द छ । तर मानिसहरु नाका भन्दा एक सय मिटर परबाट सहजै नेपाल र भारत ओहोर दोहोर गरिरहेका छन ।

सरकारले कोरोना भाइरसको संक्रमण रोक्नका लागि भन्दै सीमा नाका बन्द गरेको थियो । संक्रमण दर घटेर जनजीवन सामान्यउन्मुख रहे पनि नाका नखुल्दा सीमा क्षेत्रका स्थानीयहरु चोरबाटो हुँदै ओहोर दोहोर गर्न बाध्य छन् ।

रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका, गैडहवा, सैनामैना, शुद्धोधन र कञ्चन गाउँपालिकाका मानिस यो नाका हुँदै बजारका लागि मात्र होइन आफन्तसँगको भेटघाटको लागि पनि भारत जाने गरेका छन् । सीमा नाकामा सुरक्षाका लागि भन्दै सशस्त्र प्रहरी, नेपाल प्रहरी र भारततर्फ एसएसीबी र प्रहरी खटिने गरेपनि चोरबाटो हुँदै आवत जावत गर्नेलाई प्रहरीले रोक्दैन ।

सीमा नाका बन्द हुँदा करोडौँ रुपैयाँको राजस्व समेत गुमेको छ । सरकारले सीमा नाका बन्द गरेर चोर बाटोबाट सहज आवतजावत गर्न दिँदा चोरी निकासी बढ्दै गएको हो ।

लुम्बिनीबाट सबै भन्दा नजिक रहेको यो नाका हुँदै भारतीय पर्यटक नेपाल आउने गर्थे । नाका बन्द भएपछि लुम्बिनीमा पर्यटक आउन पाएका छैनन् । यसले गर्दा यहाँको ब्यापार ब्यवसायमा समेत ठुलो धक्का पुगेको छ । त्यसैले स्वास्थ्यका मापदण्ड तोकेर सरकारले तत्काल नाका खोल्न आवश्यक भइसकेको छ ।

सरकारले रुपन्देहीको बेलहिया नाकाबाट अहिले खाद्यान्न तथा सामान ढुवानी, बिरामी र रोजगारीमा जाने आउनेलाई मात्र अनुमती दिएको छ । सीमा नाकामा हुने चोरी निकासी रोक्नको लागि भन्दै नाकाहरुमा सशस्त्र प्रहरीको संख्या बढाएको छ ।

मानिसको आवतजावतलाई सहज बनाउँदै राज्यको घाटा कम गर्न मद्दत पुर्‍याउन सरकारले स्वास्थ्य मापदण्डको पालना गराई सीमा नाका क्रमश खुकुलो बनाउदै जानुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *