आर्थिक

कोरोना संक्रमणदर घट्दै गएपछि पोखरामा पर्यटकीय चहलपहल बढ्दै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २८ गते १४:३७
कोरोना संक्रमणदर घट्दै गएपछि पोखरामा पर्यटकीय चहलपहल बढ्दै (भिडियो रिपोर्टसहित)

२८ भदौ २०७८ पोखरा । कोरोना संक्रमणदर सामान्य हुँदै गएपछि पोखरामा आन्तरिक पर्यटक फाट्टफुट्ट देखिन थालेका छन् । तर पोखराका सबै पर्यटकीय गन्तव्य खुलिसकेका भने छैनन् ।

संक्रमण मत्थर भएको र व्यवसायीले पनि खोप लगाएर व्यवसाय संचालन गर्न तयार भएकाले पर्यटकीय गतिविधि खुल्ला गरिनुपर्ने व्यवसायीले बताएका छन् ।

फेवातालको फुट ट्रेल र ताल किनारका प्रतीक्षालयमा आन्तरिक पर्यटक सानो संख्यामा भए पनि दिनहुँ देख्न सकिन्छ । नेपाल प्रवेश गर्न त्यति सहज नभए पनि भारतबाट समेत पर्यटक पोखरा आएका छन् ।

फेवाताल किनारमा पर्यटक फोटो खिच्दै, कोही टिकटक बनाउँदै रमाइरहेका छन् । कोरोना संक्रमणदर कम हुँदै गएपछि पर्यटकको चहलपहल बढेको हो । पोखरा भने अझै पर्यटकको स्वागत गर्न पूर्ण रुपले तयार भएको छैन ।

पर्यटन व्यवसायीलाई कोरोनाविरुद्धको खोपको पहिलो मात्रा दिएपछि प्रशासनले पर्यटन व्यवसाय आंशिक रुपमा खोल्ने अनुमति दिएको छ । धेरैजसो पर्यटन व्यवसायीले खोप लगाइसकेकाले यो क्षेत्र खोल्न ढिलो गर्न नहुनेमा व्यवसायीको जोड छ ।

पोखरामा असोज पहिलो साताबाट पर्यटन व्यवसाय पूर्ण खुलाउने प्रशासनको तयारी छ । तर व्यवसायीले खोप लगाइसकेको सन्देश फैलाउन नसके पर्यटन क्षेत्र चलायमान हुन भने कठिन देखिन्छ ।

कोरोना र विभिन्न प्रतिबन्धका कारण पर्यटन व्यवसाय थला परेको छ । फाट्टफुट्ट आएका पर्यटकले खुलेका होटलको संचालन खर्च धान्न कठिन छ ।

दोस्रो लहर सकिँदासम्म करिब ४० प्रतिशत व्यवसायी र ६० प्रतिशत मजदुर पलायन भएका छन् । सरकारले व्यवसायीलाई कर छुट र राहत प्याकेज दिएर सहयोग गर्नुपर्ने व्यवसायीको सुझाव छ ।

सरकारले पर्यटन व्यवसाय क्रमशः खोल्दै लगे यो क्षेत्र लयमा फर्कन सहयोग हुनेमा व्यवसायी आशावादी छन् । शहरका साथै ग्रामिण पर्यटन र यो संग सम्बन्धित सबै क्षेत्रमा स्वास्थ्य सावधानी अपनाएर व्यवसाय सञ्चालन ल्याउनु पर्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *