समाज

थारु समुदायमा अट्वारी पर्व आज मनाइँदै (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २७ गते २०:४८
थारु समुदायमा अट्वारी पर्व आज मनाइँदै (भिडियो रिपोर्टसहित)

२७ भदौ २०७८ दाङं । थारु समुदायको दोस्रो ठूलो पर्व अट्वारी आज मनाइँदैछ । दाङसहित बाँके, बर्दिया, कैलाली, कञ्चनपुरसहित थारु समुदायको बसोबास रहेका जिल्लामा कुशे औंशीपछिको पहिलो आइतबार यो पर्व मनाइन्छ ।

आजको दिन सूर्यको जन्म भई संसार उज्यालो भएर प्राणीहरुको कल्याण भएको मान्यता अनुसार सूर्यको पूजाआराधना गरेर यो पर्व मनाउने गरिन्छ ।

दाङसहित तराईका ५ जिल्लामा अट्वारी पर्व हर्सोल्लासका साथ मनाइँदैछ । गएराति मिठामिठा परिकार बनाएर भिनसर्या अर्थात दर खाने र आज व्रत बस्ने चलन छ । अट्वारीको दिन माछामासुबाहेक रोटी, दूध, दही, तरुल, फलफूल लगायतका परिकार अग्निमा चढाई पूजा गरिन्छ ।

महाभारतमा पाँच पाण्डवमध्येका भीम रोटी पकाउँदापकाउँदै कौरवहरुसँग युद्ध लड्न गएको र युद्ध लडेर फर्किँदा भोकाएका भीमले एकातिर मात्र पाकेको रोटी खाएर भोक मेटेको किंवदन्ती छ । थारु समुदायका पुरुषहरु व्रत बसी भीम जस्तै बलवान हुने कामना गर्छन् ।

बिहानै पुरुषहरु नजिकैको जलाशयमा गई स्नान गरेर रोटी, माछालगायत परिकार आगोमा चढाएर दिदीबहिनीका लागि कोशेली अर्थात अग्रासन छुट्याउने गर्दछन् । यसरी छुट्याइएको अग्रासन विवाहित चेलीबेटीको घरमा दिने चलन छ ।

आपसी सद्भाव र शुभकामना प्रकट गरी मनाइने यस पर्वलाई आफन्तसँगको भेटघाट, दुखसुख बाँड्ने र आत्मीयता बढाउने अवसरको रुपमा पनि लिइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *