एमालेले सभामुख र निर्वाचन आयोगको मानमर्दन गरेको अध्यक्ष नेपालको आरोप (भिडियो रिपोर्टसहित)

२६ भदौ २०७८ नेपालगञ्ज । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अदालतमा विचाराधीन विषयलाई लिएर एमालेका नेताहरुले सभामुख अग्नीप्रसाद सापकोटाको मानमर्दन गरेको आरोप लगाउनुभएको छ ।
पार्टी निकट युवा संघ नेपाल अन्तर्गतको पिपुल्स भोलेल्टिर्यसको लुम्बिनी प्रदेशस्तरीय घोषणा सभामा अध्यक्ष नेपालले सर्वोच्च अदालतका न्यायाधीश, निर्वाचन आयोगको मानमर्दन गरेर एमाले नेताहरुले गलत संस्कृतिको विकास गरिरहेको बताउनुभयो ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र उहाँको समूहको खराव दिन शुरु भइसकेको भन्दै अध्यक्ष नेपालले प्रदेश १ र बागमती प्रदेशमा छिट्टै ५ दलीय गठबन्धनको सरकार निर्माण हुने दाबी गर्नुभयो ।
नेकपा (एकीकृत समाजवादी) पार्टीको देशैभर संगठन र जनाधार भएको बताउँदै उहाँले सुदूरपश्चिम प्रदेश र प्रदेश २ मा केपी ओलीको पार्टीभन्दा आफ्नो पार्टी ठुलो भइसकेको दाबी गर्नुभयो ।
अध्यक्ष नेपालले एमालेका केही नेताहरुले समाजवादी माओवादीमा मिसिन्छ भनेर अफवाह फैलाएको बताउनुभयो ।
प्रतिक्रिया