समाज

मदन भण्डारी राजमार्गको पूर्वी रुटको काम शुरू (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २६ गते १६:५३
मदन भण्डारी राजमार्गको पूर्वी रुटको काम शुरू (भिडियो रिपोर्टसहित)

२६ भदौ २०७८ विराटनगर । सरकारले पाँच वर्षअघि घोषणा गरेको मदन भण्डारी राजमार्गको पूर्वी रुटको काम शुरू भएको छ । सडक निर्माणको विषयमा पूर्वी रुटको सर्भेका क्रममा नै विवाद उब्जिएपछि पाँच वर्षयतादेखि सडक निर्माणको काम अघि बढ्न सकेको थिएन ।

मदन भण्डारी राजमार्ग आयोजना निर्देशनालयले इलाम, झापा, मोरङ र सुनसरीमा पुरानै सर्भे अनुसार निर्माणको काम अघि बढाएको हो । आयोजनाले पूर्वको झापाबाट धरानसम्म १ सय ३० किलोमिटर सडक निर्माणका लागि काम अघि बढाएको छ ।

मदन भण्डारी राजमार्गको पूर्वी रुटका लागि १३ वटा पुलको ठेक्का लगाएर निर्माणको काम अघि बढेको छ । तीन वर्षभित्र राजमार्ग निर्माण सक्ने सरकारको योजना छ । झापाको बाहुन डाँगीदेखि डडेल्धुराको रुपाल जोड्ने प्रस्तावित मदन भण्डारी राजमार्गको पूर्वी खण्डमा यसअघि रेखाङ्कनमा विवाद थियो ।

आयोजनाले समस्या समाधान गरेको छ । खासगरी चुरे क्षेत्रका विकट भेगलाई जोड्ने राजमार्ग निर्माण समयमै सम्पन्न भए स्थानीय बासिन्दाले आधारभूत सुविधा प्राप्त गर्नेछन् ।

निर्माणको काम समयै पूरा भए सडकमा सहज पहुँच पुग्नेमा स्थानीयबासिन्दा आशावादी छन ।

यसअघि आयोजनाको साविक रेखाङ्कनले धेरै घरमा क्षति हुने भन्दै स्थानीयबासन्दाले विकल्प खोज्न माग राखेका थिए । विशेषगरी झापाको दमक, मोरङको मधुमल्ला, लेटाङ, केराबारीलगायत ठाउँमा विवाद थियो ।

तर पछिल्लो समय आयोजनाले स्थानीय तहसँगको समन्वयमा समस्या समाधान गरेसँगै सडक विस्तारको काम शुरू भएको हो । आयोजनाले पहिलो चरणमा मोरङको केराबारी, लेटाङ र मिक्लाजुङ, झापाको शान्तिनगर र सुनसरीको धरान हुँदै सडक खण्डको निर्माणको काम भइरहेको छ ।

धरान–झापा करिब १ सय २० किलोमिटर खण्डको विस्तृत आयोजना प्रतिवेदन ९डीपीआर० चार वर्षअघि बनेको थियो । संघीय सरकारले ठेक्का लगाएर निर्माण कार्य अघि बढेको पुर्वी खण्डको राजमार्ग दुई लेनको हुनेछ ।

यो आयोजनाका लागि सरकारले पहिलो पटक आर्थिक वर्ष २०७५(७६ मा ४ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको थियो । सरकारले चालु आर्थिक वर्षका लागि पनि उत्तिकै मात्रामा बजेट विनियोजन गरेको छ । कुल १ हजार २ सय किलोमिटर लम्बाइको प्रस्तावित राजमार्गलाई १० खण्डमा विभाजन गरेर निर्माण पूरा गर्ने सरकारको योजना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *