खेलकूद

पपुवा न्युगिनीविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले बनायो यस्ता कीर्तिमान

हिमालय टिभी
२०७८ भदौ २६ गते ८:३०
पपुवा न्युगिनीविरुद्धको दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले बनायो यस्ता कीर्तिमान

२६ भदौ २०७८ काठमाडौं । पपुवा न्युगिनीविरुद्धको दोस्रो एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलमा नेपालले विभिन्न कीर्तिमान बनाएको छ ।

पीएनजीलाई १ सय ५१ रनको फराकिलो अन्तरले हराउँदै नेपालले अहिलेसम्मकै फराकिलो जित निकालेको छ । यसअघि नेपालले सन् २ हजार १९ को जनवरीमा दुबईमा यूएईलाई १ सय ४५ रनले हराएको थियो ।

त्यस्तै पिएनजीविरुद्ध सन्दीप लामिछानेले आफ्नो क्यारियरकै उत्कृष्ट बलिङ गरे । उनले ५ दशमलव १ ओभरमा मात्र ११ रन खर्चिएर ६ विकेट लिए । यसअघि उनले काठमाडौंमा सम्पन्न त्रिकोणात्मक श्रृंखलामा ६ ओभरमा एक मेडनसहित १६ रन खर्चिएर ६ विकेट हात पारेका थिए ।

त्यस्तै सन्दीप लगातार तीन खेलमा म्यान अफ द म्याच चुनिए । अब उनी अर्को खेलमा पनि म्यान अफ द म्याच भएमा उनले नयाँ रेकर्ड बनाउने छन् । संदीप लगातार चार खेलमा म्यान अफ द म्याच बन्ने भारतीय क्रिकेटका पूर्व कप्तान सौरभ गांगुलीसँग बराबरी गर्नेछन् ।

त्यस्तै उनी एक दिवसिय क्रिकेटमा कम ओभरमा धेरै विकेट लिने १४ औं खेलाडी बनेका छन् । उनी लगातार तीन खेलमा चार वा त्यो भन्दा बढि विकेट लिने खेलाडी पनि बने । उनले पछिल्ला तीन खेलमा १६ विकेट लिएका छन् । यो कीर्तिमान वकार युनिस, शेर्न वार्न, अब्दुर रज्जाक, मोहम्मद शामी, साहित अफ्रिदी जस्ता खेलाडीको नाममा पनि छ ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्ल र रोहित पौडेलले तेस्रो विकेटका लागि ८९ रनको साझेदारी गरे । जुन नेपाली खेलाडीले गरेको अहिलेसम्मकै उच्च साझेदारी हो । रोहित र ज्ञानेन्द्रले २ हजार २० मा काठमाडौंमा भएको त्रिकोणात्मक श्रृंखलामा ८४ रनको साझेदारीलाई तोडे भने तेस्रो विकेटका लागि पहिलो ठूलो साझेदारी गर्न सफल भए ।

यसअघि तेस्रो विकेटका लागि ६४ रनको साझेदारी भएको थियो । उता रोहित र करण केसीले सातौं विकेटका लागि ६६ रनको साझेदारी गरे । जुन नेपाली खेलाडीले एक दिवसीय क्रिकेटमा त्यो विकेटका लागि गरेको अहिलेसम्मकै ठूलो साझेदारी हो । त्यस्तै नेपालले एक दिवसीय श्रृंखला लगातार जित निकालेको पनि पहिलो पटक हो ।

एक दिवसीयको मान्यता पाएपछि नेपालले पहिलो पटक लगातार तीन खेलमा जित निकाल्न सफल भएको छ । नेपालले काठमाडौंमा २ हजार २० को शुरुवातमा भएका त्रिकोणात्मक श्रृंखलाको अन्तिम खेलमा अमेरिकालाई हराएपछि अहिले पीएनजीलाई दुई खेलमै हराएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्