आर्थिक

ओली सरकारको बजेट परिवर्तन गर्दै नयाँ सरकारले ल्यायो नयाँ बजेट (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २५ गते २०:४९
ओली सरकारको बजेट परिवर्तन गर्दै नयाँ सरकारले ल्यायो नयाँ बजेट (भिडियो रिपोर्टसहित)

२५ भदौ २०७८ काठमाडौं । अघिल्लो सरकारले ल्याएको बजेट परिवर्तन गर्दै सरकारले संसदमा नयाँ बजेट पेश गरेको छ । एमाले सांसदको नाराबाजीका बाबजुद सरकारले नयाँ बजेट पेश गर्‍यो ।

विष्णु पौडेलले ल्याएको बजेटलाई १५ अर्बले घटाएर अर्थमन्त्री जनार्दन शर्माले १६ खर्ब ३२ अर्ब ८४ करोड रुपैयाँको नयाँ बजेट सार्वजनिक गर्नुभयो । नयाँ बजेटमा पूँजीगत खर्च र राजश्वको लक्ष्य बढेको छ ।

एमाले सांसदको नाराबाजीका बिच अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक बर्षका लागि एमाले नेतृत्वको सरकारले ल्याएकोभन्दा झण्डै १५ अर्बले सानो आकारको बजेट सार्वजनिक गर्नुभयो ।

यसअघिका अर्थमन्त्री बिष्णु पौडेलले चालु आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड ६७ लाख रुपैयाँ बराबरको बजेट अध्यादेशमार्फत ल्याउनुभएको थियो । नयाँ बजेटमा चालुतर्फ ६ खर्ब ७७ अर्ब ९९ करोड, पूँजीगततर्फ ३ खर्ब ७८ अर्ब १० करोड, वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड र प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ खर्ब ८७ अर्ब ३० करोड रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटमा चालु खर्च १ अर्ब ४२ करोडले घटेको छ । बैठक भत्ता, इन्धन, मर्मत, कर्मचारी तालीम खर्च, सीप विकास, भ्रमण खर्च लगायतमा १० प्रतिशतले कटौती गर्दा बजेट घटेको हो। यस्तै पूँजीगत खर्च ४ अर्ब रुपैयाँ र वित्तीय व्यवस्था १७ अर्ब रुपैयाँ बढेको छ । राजश्व २५ अर्ब रुपैयाँले बढ्ने अनुमान गरिएको छ ।

राजस्वबाट १० खर्ब ५० अर्ब ८२ करोड र बैदेशिक अनुदानबाट ५९ अर्ब ९२ करोड बेहोर्ने लक्ष्य लिएको छ । चालु आर्थिक बर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य सरकारको छ ।

कोभिड १९ महामारीबाट प्रभावित अर्थतन्त्र पुनरुत्थानको लक्ष्य लिएको सरकारले खोप खरिदका लागि ५ अर्ब रुपैयाँ छुट्याएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *