समाज

जनशक्तिको अभावका कारण सिक्टा आयोजनाको काम अलपत्र (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २५ गते १६:१२
जनशक्तिको अभावका कारण सिक्टा आयोजनाको काम अलपत्र (भिडियो रिपोर्टसहित)

२५ भदौ २०७८ बाँके । बाँकेमा निर्माणाधिन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना डेढ महिनादेखि प्रमुखविहीन हुँदा निर्माण कार्य सुस्त बनेको छ ।

सह सचिव तहको इन्जिनियर प्रमुख हुनुपर्ने आयोजनामा उपसचिव तहको डिभिजनल इन्जिनियरलाई निमित्त प्रमुखका भरमा चलाएकाले पनि काम प्रभावित भएको हो । प्रमुखका साथै आयोजनामा दरबन्दीका ४ जना डिभिजनल इन्जिनियर पनि छैनन् ।

आवश्यक जनशक्ति अभावमा आयोजनाका लागि जग्गा अधिग्रहण, मुआब्जा रकम निर्धारण, ठेक्का आह्वानलगायत कार्य प्रभावित भएको छ ।

मेकानिकल इन्जिनियरको दरबन्दी पनि बर्षौदेखि रिक्त हुँदा करिब साढे ३ अर्ब रुपैयाँ को लागतमा निर्माण भएको आयोजनाको हेडबक्स र त्यहाँ जडित अत्याधुनिक प्रबिधि सहितको कन्ट्रोल रुम सञ्चालन अन्यौल छ । सरकारले भने जनशक्ति खटाउने तर्फ चासो देखाएको छैन ।

राष्ट्रिय गौरवको आयोजना भनेर बजेट छुट्याए पनि सिँचाईँ विभागले प्राविधिक तथा दक्ष कर्मचारी नखटाउँदा आयोजना अन्तर्गतका ७ वटा शाखा र ५० भन्दा बढी उपशाखाको करिब १ सय किलोमिटर लामो नहर निर्माणको काममा ढिलाई भइरहेको छ । आवश्यक जनशक्ति खटाएर नहर निर्माणको कामलाई तिब्रता दिन बाँकेका जनप्रतिनिधिले सरकारसँग माग गरेका छन ।

बाँकेको करिब ३४ हजार हेक्टर जमिनमा सिँचाईँ सुविधा पुर्‍याउने उद्देश्यले १६ वर्ष अघि निर्माण शुरु भएको आयोजनाको काम अहिलेसम्म करिब ७० प्रतिशत मात्र पुरा भएको छ । आयोजना निर्माणमा ढिलाई हुँदा समयसँगै लागत पनि बढेको छ । रिक्त पदपूर्ती नहुँदा काम गर्न कठिनाई भइरहेको निमित्त आयोजना प्रमुख बताउँछन् ।

आर्थिक बर्ष २०६२–०६३ मा शुरु भई २०७० को माघमा सक्ने लक्ष्य राखिएको आयोजना निर्माणमा १२ अर्ब ७० करोड रुपैयाँ लाग्ने शुरुवाती अनुमान थियो । तर आयोजनामा हालसम्म करिब १७ अर्ब रुपैयाँ खर्च भइसकेको छ । साथै थप गरिएको म्यादको समेत ७ बर्ष बिति सक्दा नहर निर्माणको काम भने करिब ६५ प्रतिशत मात्रै सकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *