समाज

नापी कार्यालयमा फाइल ट्रायाकिङ्ग प्रणालीको शुरुवात (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २३ गते १८:२१
नापी कार्यालयमा फाइल ट्रायाकिङ्ग प्रणालीको शुरुवात (भिडियो रिपोर्टसहित)

२३ भदौ २०७८ बुटवल । कार्यालयमा हुने बिचौंलिया र सेवाग्राहीले पाउने सास्तीको अन्त्यका लागि भन्दै रुपन्देही नापी कार्यालयले अहिले फाइल ट्रायाकिङ्ग प्रणालीको शुरुवात गरेको छ । यो प्रणालीबाट कसरी काम छिटो र छरितो हुन्छ त ?

रुपन्देहीको रोहिणी गाउँपालिकाका मुनेश्वरप्रसाद यादव जग्गाको कित्ताकाँटका लागि जिल्ला नापी कार्यालय भैरहवामा आइपुग्नुभयो । आउने बित्तिकै उहाँले सोधपुछ कक्षमा फाइल बुझाउनुभयो । त्यसपछि उहाँ लाइनमा लाग्न परेन ।

उहाँको फाइल कहाँ पुग्यो र कुन–कुन कागजातको आवश्यकता पर्दछ भनेर आफ्नै मोबाइलको म्यासेज बक्समा आइपुग्यो । कागजात मिलेको एउटै काम गर्नका लागि अरु बेला ५–६ दिनको समय लाग्थ्यो । बिचौलियाबाट काम गराउनुपर्ने बाध्यता थियो । तर यादवको काम भने एकै दिनमा सकियो ।

भैरहवाका तुरुनबहादुर थापा पनि आफ्नो फाइल कहा पुग्यो भनेर कार्यालयमा राखिएको स्क्रिनमा हेर्दै हुनुहुन्थ्यो । त्यही बेला उहाँको मोबाइलमा तपाईको पालो आउँदै छ कृपया २० मिनेटमा सम्पर्क गर्नुहोला भनेर म्यासेज आयो ।

नापी कार्यालयमा सधैं सेवाग्राहीको भिडभाड हुने गर्दछ । यसले गर्दा बिचौलियाले चाँडै काम गरिदिन्छु भनेर फाइल लैजाने र पैसा मागेर सेवाग्राहीलाई दुख दिने गर्दथे । यसको अन्त्य गर्नको लागि भन्दै रुपन्देही नापी कार्यालयले फाइल ट्रायाकिङ्ग प्रणाली लागू गरेको हो ।

सेवाग्राहीले शुरुमा सोधपुछ कक्षमा फाइल बुझाएपछि दर्ता गरिन्छ र कार्यालयको सिष्टम अनुसार सेवाग्राहीको कामको बारेमा अनलाइनमा ईन्ट्री गरिन्छ । त्यसपछि सम्बन्धित फाँटमा फाइल पुग्छ र सनाखत वा कागजात अपुग भए मोबाइलमा म्यासेज आउँछ । यसले गर्दा कार्यालयको सेवा छिटो र छरितो भएको छ ।

फाइल ट्रायाकिङ्ग प्रणाली लागू गरेपछि अहिले छिटो र छरितो काम हुने मात्र होइन सेवाग्राही बिचौलियाका जालमा फस्नु परेन । यसले गर्दा कार्यालयमा हुने अनावश्यक भिडभाडमा पनि कमी आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *