विद्यालय खुल्यो तर बालबालिकामा कोरोनाको जोखिम र त्रास उस्तै (भिडियो रिपोर्टसहित)
२२ भदौ २०७८ धादिङ । कोरोना महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण बन्द भएका धादिङका शैक्षिक संस्था विस्तारै खुल्न थालेका छन् ।
लामो समय घरमै बसेर पढेका विद्यार्थी विद्यालय खुलेपछि उत्साही त छन्, तर सँगसँगै कोरोनाको जोखिम कायमै रहँदा उनीहरुमा त्रास पनि देखिन्छ ।
दोस्रो लहरको कोरोना संक्रमणसँगै देशभरका शैक्षिक संस्था बन्द भए । भौतिक उपस्थितिमा पठनपाठन जारी राख्दा कोरोना संक्रमणको जोखिम भएपछि विद्यालयले अनलाइनमार्फत पठनपाठन शुरु गरे । अनलाइनबाट नियमित कक्षा सञ्चालन भए पनि त्यति प्रभावकारी भने हुन सकेको थिएन् ।
पछिल्ला दिनमा कोरोनाको जोखिम घटेको भन्दै अवस्था हेरेर विद्यालय खोल्न दिने नीति सरकारले लिएको छ । र संघीय राजधानी काठमाडौंसँगै जोडिएको जिल्ला धादिङमा पनि कोरोना संक्रमणको जोखिम घटेको भन्दै विद्यालय खुल्न थालेका छन् ।
वैकल्पिक माध्यम अनलाइनबाट गरिएको अध्ययन अध्यापन प्रभाकारी नभएको भन्दै जोखिमकै बीच विद्यालय खुलेकामा विद्यार्थी खुसी भएका छन् ।
लामोसमयपछि विद्यालयमै गएर पठनपाठन गर्न पाएकोमा विद्यार्थी उत्साही भए पनि उनीहरुमा कोरोनाको त्रास भने देखिन्छ ।
कोरोनाको जोखिम कायमै छ । तेस्रो लहरको संक्रमण फैलिएमा विद्यार्थी र बालबालिका बढी प्रभावित हुने चिकित्सक र स्वास्थ्यविद्हरुले चेतावनी दिएका थिए ।
उनीहरुको चेतावनीका कारण थियो विद्यार्थी र बालबालिकाले कोरोनाविरुद्धको खोप नलगाउन नपाउनु । तैपनि समुदायको आग्रह र विद्यार्थीको रुचिका कारण विद्यालय सञ्चालनमा ल्याइएको प्रधानाध्यापकहरुको दाबी छ ।
पठनपाठन शुरु हुनु आफैमा नराम्रो भने होइन तर कोरोना संक्रमणको जोखिम कायमै रहेको अवस्थामा स्वास्थ्यभन्दा ठूलो कुरा अरु केही हुन सक्दैन भन्ने पनि हेक्का राख्न जरुरी छ ।
प्रतिक्रिया