खेलकूद

पहिलो एक दिवसीय क्रिकेटमा पपुवा न्युगिनीविरुद्ध नेपालको शानदार जित

हिमालय टिभी
२०७८ भदौ २२ गते १७:१७
पहिलो एक दिवसीय क्रिकेटमा पपुवा न्युगिनीविरुद्ध नेपालको शानदार जित

२२ भदौ २०७८ काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) विश्व क्रिकेट लीग टुको तयारीका क्रममा पपुवा न्युगिनी (पीएनजी)सँग खेलेको पहिलो एक दिवसीय क्रिकेटमा नेपाल विजयी भएको छ ।

ओमानको अल अमेरत क्रिकेट ग्राउण्डमा नेपालले पीएनजीलाई २ विकेटले हराएको हो । जितका लागि पाएको १ सय ३५ रनको सामान्य लक्ष्य नेपालले ८ विकेट गुमाएर ४० औँ ओभरमा भेट्टायो । नेपाललाई जिताउन रोहित पौडेलले ४१ र आसिफ शेखले ३० रन बनाए ।

यस्तै आठौं नम्बरमा ब्याटिङगमा आएका सोमपाल कामीले नट आउट २२ रन बनाए । ८२ रन बनाउँदा ७ विकेट गुमाएर नेपाल दबावमा परेका बेला ब्याटिङमा आएका सोमपालले नेपाललाई जितसम्म पुर्‍याएका हुन् । सोमपाल र रोहितको जोडीले आठौं विकेटका लागि ५२ रनको साझेदारी गरेको थियो ।

यसअघि पहिले ब्याटिङ गरेको पीएनजीले ३३ ओभरमा सबै विकेट गुमाएर १ सय ३४ रन मात्र बनायो । ३३ औं ओभरको अन्तिम बलमा सन्दीपले नोसैन पोकनालाई एबिडब्लु आउट गर्दा पीएनजी सस्तैमा अलआउट भयो ।

पीएनजीका लेगा सियाकाले ३०, चाल्र्स अमिनीले २३ र गौडी टोकाले २२ रन बनाए । खेलको सुरुवातदेखिनै नेपालको धारिलो बलिङसामु धरासयी बनेको पीएनजीका चाल्र्स र लेगा सियाकाले तेस्रो विकेटका लागि ५० रनको साझेदारी गरे ।

तर १२ औं ओभरमा २३ रन बनाएर खेलिरहेका अमिनीलाई सन्दीपले आसिफ शेखको हातबाट क्याच गराए । बलिङतर्फ नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ३५ रन खर्चिएर ४ विकेट लिए । त्यस्तै, विक्रम सोब र कुशल मल्लले समान २(२ तथा सोमपाल कामीले १ विकेट लिए ।

खेलको दोस्रो ओभरमा बलिङको जिम्मा पाएका डेब्युटान विक्रम सोबले पहिलो बलमै ओपनर टोनी उरालाई एक रनमा बोल्ड आउट गरे । त्यस ओभरमा उनले एक विकेटसहित मेडन राखे ।

डेब्यु खेलको पहिलो बलमै विकेट लिने उनी नेपालका पहिलो खेलाडी हुन् । विश्व क्रिकेटमा भने यसअघि अन्य २७ खेलाडीले यो सफलता पाएका थिए । आजको खेलमा ओपनरद्धय आसिफ शेख र कुशल भुर्तेलसँगै तीव्र गतिका बलर विक्रम सोबले टोलीमा डेब्यु गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्