आर्थिक

पोखरामा इन्धन भण्डारण गृह बन्दै, ९० दिनलाई पुग्ने इन्धन संचित गर्न सकिने (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २२ गते १४:१३
पोखरामा इन्धन भण्डारण गृह बन्दै, ९० दिनलाई पुग्ने इन्धन संचित गर्न सकिने (भिडियो रिपोर्टसहित)

२२ भदौ २०७८ पोखरा । पोखरामा नेपाल आयल निगमको इन्धन भण्डारण गृह निर्माणको काम भइरहेको छ । नेपाल सरकारको नीति बमोजिम ९० दिनको भण्डारण क्षमता विस्तार गर्ने पहिलो परियोजनाअन्तर्गत गण्डकी प्रादेशिक कार्यालयमा भण्डार गृहको निर्माण थालेको हो । अहिले एक करोड लिटर क्षमताका दुई वटा भर्टिकल ट्यांक निर्माण भइरहेका छन् ।

कास्कीको गगनगौंडास्थित डिपोमा फायर फाइटिङ स्तरोन्नति, लोड–अनलोड सेड विस्तार, डिपोको सुरक्षा प्रणाली सुधारसहित ५०–५० लाख लिटर क्षमताका दुई ठूला भर्टिकल ट्याङ्क निर्माणको गत कात्तिक २७ गते शिलान्याश गरिएको थियो ।

२४ लाख लिटर पानी अटाउने अर्को भर्टिकल ट्यांक निर्माणको कामसमेत शुरु भएको छ । यी सबै पूर्वाधार तयार गर्न ७७ करोड ७७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । अबको एक वर्षभित्र सम्पूर्ण निर्माण सकेर सञ्चालनमा ल्याउने योजनाअनुसार काम भइरहेको भण्डारणगृह निर्माण तथा पुनःस्थापना कार्यक्रम परियोजनाले जनाएको छ ।

अहिले डिजेलको दुई वटा र पानीको एउटा भर्टिकल ट्यांक निर्माण भइरहेको छ । अहिलेसम्म तीन वटै भर्टिकल ट्यांकलाई १८ फिटमुनिबाट उठाएर जमिनको सतहभन्दा माथि ढलान उठाइएको छ । फलामको पातालाई जोडेर भर्टिकल ट्याङ्क जडान धमाधम भइरहेको छ । निगमले पहिलो पटक जर्मन प्रविधि प्रयोग गरी भर्टिकल ट्याङ्ग निर्माण थालेको हो । अमेरिकन पेट्रोलियम इन्स्टिच्युट (एपीआई) मापदण्डको सामान र प्रविधि प्रयोग गरी निर्माण अघि बढाएको निगमले जनाएको छ ।

निर्माणमा दक्ष, अदक्ष गरी २४ जना मजदुर र कर्मचारी खटिएका छन् । अबको दुई महिनाभित्र डिजेलको दुईवटा र पानीको एउटा भर्टिकल ट्याङ्क तयार गर्ने गरी काम अघि बढेको छ । त्यसपछि भर्टिकल ट्याङ्कमा डिजेल पठाउने पम्पिङ सेड, आयल वाटर सेपरेटर, भर्टिकल ट्यांकको वरीपरी पिच सडक निर्माणलगायतका काम अघि बढ्नेछन् । कोरोनाको कारण सामान आउन ढिला भए पनि यही आर्थिक वर्ष भित्र काम सम्पन्न गर्ने ठेकेदार कम्पनीले जनाएको छ ।

निगमको गण्डकी प्रादेशिक कार्यालयमा हाल साना क्षमताका चारवटा भर्टिकल ट्याङ्क छन् । १ करोड लिटर क्षमताको नयाँ डिजेल भडारण गृह तयार भए पछि हालको सानो क्षमताको चारवटै भर्टिकल ट्याकमा पेट्रोल राखिने छ ।

पेट्रोल राखिने हालको अन्डर–ग्राउन्ड ट्यांकमा डिजेल र मट्टितेल राख्ने गरी कार्ययोजना अघि बढाइएको छ । हालको सानो क्षमताको भर्टिकल ट्याङ्क कन्भर्सन गरेपछि पेट्रोलको भण्डारण क्षमता बढ्ने छ यसले २७ दिनको माग धान्न सक्ने निगमले जनाएको छ । एक करोड लिटर अटाउने नयाँ डिजेल ट्यांक तयार भएपछि ४२ दिनको माग धान्न सक्ने पूर्वाधार तयार हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *