एलेक्जेण्डर जारेभ र एमा रादुकानु युएस ओपन टेनिसको क्वार्टरफाइनलमा प्रवेश
२२ भदौ २०७८ काठमाडौं । जर्मन खेलाडी एलेक्जेण्डर जारेभ र बेलायती किशोरी एमा रादुकानु युएस ओपन टेनिसको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।
पुरुष एकलतर्फ चौथो वरियताका जारेभले इटालीका जान्निक सिन्नरलाई ३–० को सेटमा हराउँदै अन्तिम आठमा स्थान पक्का पारे । उनले सिन्नरमाथि ६–२, ६–२ र ७–६ को सेटमा जित निकाल्न दुई घण्टा २५ मिनेट लगाए ।
जारेभले क्वार्टरफाइनलमा दक्षिण अफ्रिकी खेलाडी लोयड ह्यारिसको सामना गर्नेछन् ।
उता महिला एकतर्फ बेलायतकी १८ वर्षीया रादुकानु पनि अन्तिम आठमा पुगेकी छिन् ।
रादुकानुले अमेरिकी खेलाडी सेल्बे रोजर्सलाई ६–२ र ६–१ को सोझो सेटमा पराजित गरिन् । क्वार्टरफाइनलमा उनले १२औं वरियताकी स्विटजरल्याण्डकी बेलिन्डा बेन्चिकसँग खेल्नेछिन् ।
बेलिन्डाले सातौं वरियतामा रहेकी पोल्याण्डकी इगा स्विटेकलाई ७–६ र ६३ को सोझो सेटमा हराइन् ।
प्रतिक्रिया