समाज

बाँके राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटेबाघसँगै पर्यटकको संख्या पनि बढ्यो (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ २० गते १४:५६
बाँके राष्ट्रिय निकुञ्जमा दुर्लभ पाटेबाघसँगै पर्यटकको संख्या पनि बढ्यो (भिडियो रिपोर्टसहित)

२० भदौ २०७८ बाँके । दुर्लभ पाटेबाघको संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको बाँके राष्ट्रिय निकुन्ज पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्य बनेको छ ।

निकुन्ज स्थापना भएको १० वर्ष मै पाटे बाघको संख्या बढेकाले यो निकुञ्जमा बाघ अवलोकन गर्नका लागि पर्यटक पुग्ने गरेका छन् । निकुन्ज क्षेत्रमा ३ सय प्रजातीका चरा, ३४ प्रजातीका स्तनधारी जनावर र २४ प्रकारका घस्रिएर हिड्ने जनावर पाइन्छन् ।

बाँके राष्ट्रिय निकुन्ज दुर्लभ वन्यजन्तु पाटेबाघ अवलोकनको गन्तव्यका रुपमा विकास हुँदै गएको छ । बाँके निकुन्ज पश्चिम नेपालको प्रमुख शहर नेपालगन्जबाट करिब १६ किलोमिटरको दूरीमा पर्छ ।

सडक तथा हवाइ यातायातको सहज पहुँच र एक दर्जनभन्दा बढी तारे होटलको सुविधा भएका कारण बाँके निकुन्जको अवलोकनमा पुग्ने पर्यटकका लागि लक्षित गरेर पर्यटन व्यवसायीहरुले टुरिष्ट प्याकेज ल्याएका छन् ।

बाँके निकुन्जले बुच्चापुर र खड्गवारमा हात्ती सार स्थापनमा गरेर ६ वटा घरपालुवा हात्तीबाट पर्यटकलाई निकुन्जको जंगल क्षेत्र घुमाउने र दुर्लभ वन्यजन्तु पाटेबाघको अवलोकन गराउन थालेको छ । निकुन्ज क्षेत्रमा पैदल भ्रमण गर्न चाहने पर्यटकहरुलाई १ सय ९ किलोमिटर वन पथ निर्माण गरिएको छ ।

निकुञ्ज घुम्न आउनेले वन्यजन्तु, प्राकृतिक सौन्दर्यका साथै स्थानीय संस्कृति हेर्न, विभिन्न परिकारको स्वाद लिन, हात्ती र जिप सफारी तथा र्‍याफ्टिङ गर्न सकिने व्यवस्था भए पनि प्रचार हुन नसक्दा निकुञ्ज ओझेलमा परेको छ । बाँके निकुन्ज पश्चिमका पर्यटकीय क्षेत्रको भ्रमणमा आउने पर्यटकका लागि टान्जिट प्वाइन्टको रुपमा विकास गर्न सकिने प्रचुर संभावना छ ।

नेपालमा भारतीय पर्यटकलाई आकर्षित गर्न सकिने प्रचुर संभावना छ । तर भारतबाट पैदल मार्ग हुँदै नेपाल भ्रमणमा आउने भारतीय पर्यटकले सिमावर्ती क्षेत्रमा रहेका सुरक्षाकर्मीबाट दुःख पाएको गुनासो गर्ने गरेका छन् । भारतीय पर्यटकलाई आकर्षित गर्न सुरक्षाकर्मी र पर्यटन व्यवसायीले व्यवहार परिवर्तन गर्नु आवश्यक देखिएको छ ।

निकुन्जको भ्रमणका लागि हात्ती तथा जिप सफारी, साइकिलिङ र हाइकिङको सुविधा उपलब्ध भए पछि पर्यटकीय चहल पहल बढ्दै गएको छ । निकुन्ज क्षेत्रको भ्रमणमा आउने पर्यटकलाई आकर्षित गर्न व्यवसायीले नयाँ नयाँ प्याकेज ल्याइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *