श्रीलंकाका बलर धम्मिका प्रसादले भैरहवा ग्ल्याडियटर्सबाट ईपीएल क्रिकेट खेल्ने
१९ भदौ २०७८ काठमाडौं । श्रीलंकाका बलर धम्मिका प्रसादले भैरहवा ग्ल्याडियटर्सबाट चौंथो संस्करणको एभरेष्ट प्रिमियर लीग (ईपीएल) क्रिकेट खेल्ने भएका थिए ।
भैरहवाले धम्मिकालाई ईपीएलका लागि अनुबन्ध गरिएको जनाएको छ । ३८ वर्षीय फास्ट बलर धम्मिकाले श्रीलंकाका लागि २५ टेस्टमा ७५ विकेट लिएका छन् ।
२४ एकदिवसीयमा ३२ विकेट र २१ ट्वेन्टी–ट्वेन्टी इन्टरनेशनलमा १९ विकेट लिएका छन् । श्रीलंकाका पूर्व ओपनर ब्याट्सम्यान उपुल थरंगा यसअघि नै भैरहवामा आवद्ध भएका छन्।
शरद भेषावकर कप्तान रहेको भैरहवाको मुख्य प्रशिक्षकमा पुबुदु दसानायके छन् । चौंथो संस्करणको ईपीएल क्रिकेट असोज ९ गतेदेखि असोज २३ गतेसम्म त्रिबि क्रिकेट मैदान कीर्तिपुरमा हुनेछ।
ईपीएलमा साविक विजेता ललितपुर प्याट्रीयट्ससंगै भैरहवा ग्ल्याडियटर्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स र विराटनगर वारिवर्सले प्रतिस्पर्धा गर्ने छन् । इपिएल क्रिकेटको प्रत्यक्ष प्रशारण हिमालय टेलिभिजनबाट हुने छ ।
प्रतिक्रिया