नेपालले भोलि भारतसँग मैत्रीपूर्ण फुटबल खेल्दै (भिडियो रिपोर्टसहित)

१६ भदौ २०७८ काठमाडौं । मैदानबाहिरका छिमेकी तथा मित्र राष्ट्र नेपाल र भारत, फुटबलको मैदानमा भने चीर प्रतिद्वन्द्वी हुन् । नेपाल र भारतबीचको भिडन्त दक्षिण एसियामै उत्कृष्ट मानिन्छ, जसमा खेलाडी र दर्शकको भावनासमेत जोडिएको छ ।
नेपाल र भारत दुई असल छिमेकी हुन् । तर फुटबलमा भने नेपाल र भारत चीर प्रतिद्वन्द्वी । खेलसँगै नेपाली समर्थकको भावनासँग जोडिएको प्रतिष्पर्धा हो, नेपाल भारत भिडन्त ।
फूटबल प्रशिक्षाक राजुकाजी शाक्यले खेलाडीका रुपमा देशका लागि ६८ खेल खेले । यसबीचमा भारतविरुद्ध धेरै पटक मैदानमा उत्रिए ।
प्रशिक्षक बनेपछि पनि उनले धेरै पटक भारतविरुद्ध गोर्खालीलाई उतारे । भारतविरुद्ध खेल्दा नेपाली समर्थकसँगै खेलाडी र प्रशिक्षकमा समेत छुट्टै जोश प्रवाह हुने उनको अनुभव छ ।
भारतका कप्तान सुनिल क्षेत्रीका लागि पनि नेपाल भारत भिडन्त विषेश रहँदै आएको छ । ३७ वर्षे क्षेत्रीले भारतका लागि एक सय १८ खेलमा ७४ गोल गरिसकेका छन् । जसमध्ये चार गोल नेपालविरुद्ध गरे । सुनिलको मामाघर र अरु धेरै आफन्त नेपालमा छन् । त्यसैले उनी नेपाली पनि मिठो गरी बोल्छन् ।
जसरी भारतीय दर्शक क्रिकेटमा पाकिस्तान हारेको हेर्न चाहन्छन् । ठिक त्यसै गरी नेपाली दर्शक नेपालले फुटबलमा भारतलाई हराएको हेर्न चाहन्छन् । सन् २०१३ मा दशरथ रंगशालामा भारतलाई हराएको नेपालले त्यसपछि उसँग ६ वटा खेल खेलेको छ ।
जसमा नेपालले दुई खेल बराबरी र बाँकी चार खेलमा पराजय भोगेको छ । त्यसयता १० गोल खाएको नेपालले जम्मा एक गोलमात्र फर्काउन सकेको छ । यो पटक नेपाली दर्शकलाई निराश हुन नदिने लक्ष्य घरेलु टिमको छ ।
अन्तर्राष्ट्रिय फुटबलमा यी दुई टोली अहिलेसम्म १९ पटक आमने सामने भएका छन् । तर, नतिजा हेर्ने हो भने भारत निकै अघि छ । नेपालले जम्मा दुई खेलमा जित र चारमा बराबरी खेलेको छ भने १३ खेलको नतिजा विपक्षीलाई सुम्पिएको छ ।
प्रतिक्रिया