नेपाल–भारत मैत्रीपूर्ण फूटबल भोलि, हिमालय टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुने
१६ भदौ २०७८ काठमाडौं । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपालले भोलि भारतसँग मैत्रीपूर्ण फूटबल खेल्दैछ ।
दशरथ रंगशालामा भोलि र २० गते आइतबार दुई दिन हुने मैत्रीपूर्ण खेलमा नेपाली टोली जितको लक्ष्य लिएर मैदान उत्रिन लागेको छ । आज भएको प्रिम्याच प्रेस कन्फ्रेन्समा राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दुवै खेल जित्ने आत्मविश्वासका साथ मैदान उत्रिने बताए ।
उनले साफ जित्ने विश्वासका लागि पनि मैत्रीपूर्ण खेल जित्नुपर्ने चुनौति रहेको भन्दै आफूहरुले नेपाली फूटबल फ्यानलाई खुसी दिने बताए ।
राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले भारतसँगको खेल कठिन भए पनि साफ च्याम्पियनसिप अगाडि मैत्रीपूर्ण खेल खेल्न पाउनु राम्रो अवसर भएको बताए ।
भारतीय फूटबल टोलीका कप्तान सुनील क्षेत्रीले पनि नेपालसँगको खेल कठिन रहेको बताए । उनले नेपालसँग खेल्न पाउनु राम्रो अवसर भएको प्रतिक्रिया दिए ।
नेपाल–भारतबीचको मैत्रीपूर्ण खेलमा अखिल नेपाल फूटबल संघ एन्फाले सीमित दर्शकलाई रंगशालामा प्रवेशको अनुमति दिने भएको छ ।
दशरथ रंगशालामा हुने दुवै खेलका लागि एन्फाले केही मापदण्डहरु बनाएर दर्शकलाई प्रवेशको अनुमति दिन लागेको हो । एन्फाका अनुसार दर्शकको दुबै डोज खोप लगाएको हुनुपर्ने वा पीसीआर रिपोर्ट नेगेटिभ आएको हुनुपर्नेछ ।
एन्फाले रंगशालामा कुल ५ हजार १ सय जानलाई सामाजिक दूरी कायम गरेर राख्ने भएको छ । नेपाल–भारतबीचको मैत्रीपूर्ण खेल हिमालय टेलिभिजनले प्रत्यक्ष प्रशारण गर्नेछ ।
प्रतिक्रिया