समाज

अभद्र व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै दाङका स्वास्थ्यकर्मी आन्दोलनमा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १३ गते २१:०९
अभद्र व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै दाङका स्वास्थ्यकर्मी आन्दोलनमा (भिडियो रिपोर्टसहित)

१३ भदौ २०७८ काठमाडौं । दाङस्थित राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद सिंहमाथि अभद्र व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै दाङका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिएका छन् ।

सिंहमाथि नेकपा एमालेसम्बद्ध अनेरास्ववियुका जिल्ला संयोजक सर्जन परियार र सहसंयोजक दिवस क्षेत्रीको समूहले शनिबार कार्यकक्षमै मोसो दलेको दलेको थियो । दोषीलाई कारवाहीको माग गर्दै स्वास्थ्यकर्मी काम छाडेर आन्दोलनमा उत्रिएका हुन् ।

दाङका विभिन्न अस्पतालमा कार्यरत डाक्टर, नर्सलगायतका झण्डै ३ सय स्वास्थ्यकर्मी न्याय माग्दै सडकमा उत्रिएका हुन् ।

उनीहरुले चिकित्सकमाथि अभद्र व्यवहार गर्ने दोषीमाथि तत्काल कारबाहीको माग गरेका छन् ।

राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद सिंहमाथि अभद्र व्यवहार भए लगत्तै अस्पतालले प्रहरी र प्रमुख जिल्ला अधिकारीलाई जानकारी दिएको थियो । तर अझैसम्म दोषी पक्राउ परेका छैनन् । त्यसैले उनीहरुले घटनामा संलग्न हुनेलाई तत्काल पक्राउ गरि कारबाही गर्न माग गरेका छन् ।

सरकारी अस्पतालका स्वास्थ्यकर्मी मात्र नभई निजी अस्पतालले पनि विरोध जनाएका छन् । घटनाका दोषीलाई तत्काल कारबाहीको माग गर्दै दाङका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द छ ।

अस्पतालमा सेवा सुविधा नहुनुमा स्वास्थ्यकर्मी मात्र नभई आम नागरिक नै जिम्मेवार हुनुपर्ने चिकित्सकहरुको तर्क छ । आफूहरु सिमित साधन स्रोतको परिचालन गरेर काम गर्नुपर्ने अवस्थामा रहेको भन्दै चिकित्सकहरु आक्रोशित व्यक्त गर्छन् ।

यसअघि पनि गत जेठ १२ गते दाङकै मानबहादुर रावतको समूहले कोभिड अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थियो। पटकपटक स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार हुनु दुखद हो । यस्ता घटना दोहोरिन नदिन राज्य नै गम्भीर बन्न जरुरी देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *