समाज

सरकारले रकम नदिँदा अझै निर्माण भएन अक्सिजन प्लान्ट (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ १२ गते १६:४१
सरकारले रकम नदिँदा अझै निर्माण भएन अक्सिजन प्लान्ट (भिडियो रिपोर्टसहित)

१२ भदौ २०७८ काठमाडौं । संघीय सरकार र प्रदेश सरकारले रकम नदिँदा बागलुङको धौलागिरि अस्पतालमा अक्सिजन प्लान्ट निर्माण भएको छैन ।

गत जेठमै बन्ने भनिएको प्लान्टका लागि ठेक्का लागिसकेपनि अग्रिम दिनुपर्ने २० प्रतिशत रकम नभएपछि समस्या भएको छ । सरकारले काम सम्पन्न भइसकेपछि मात्रै भुक्तानी दिने भनेकाले काम अघि बढेको छैन ।

जेठ महिनाको पहिलो हप्ता संघको स्वास्थ्य मन्त्रालय र गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले बजेटको सुनिश्चितता गरेपछि २० दिनमै अक्सिनज प्लान्ट बन्ने घोषणा धौलागिरि अस्पतालले गरेको थियो ।

असार ६ गते धौलागिरि अस्पताल र आरोग्य मेडिटेकबीच २ करोड ३२ लाख रुपैँयामा अक्सिजन प्लान्ट जडान गर्ने सम्झौता पनि भयो । तर अझैसम्म रकम नआएकाले अक्सिजन प्लान्ट निर्माण हुन नसकेको अस्पतालले जनाएको छ ।

टेन्डर प्रक्रियामा गई सकेपछि ठेक्का पाएको संस्थालाई २० प्रतिशत रकम दिनु पर्ने कानुनी व्यवस्था छ । तर, सरकार आफैंले काम सकेपछि मात्र रकम भुक्तानि दिने भनेर अल्झाइरहेको अस्पताल व्यवस्थापन समितिले जनाएको छ ।

अहिले धौलागिरी अस्पतालमा २० जनालाई पुग्ने अक्सिजन प्लान्ट छ । नयाँ जडान हुने प्लान्टले एक सय ५० जनालाई सहजै पुग्ने आरोग्य मेडिटेक प्रा।लिले जनाएको छ । प्लान्टबाट प्रति दिन एक सय शिलिण्डर भर्न मिल्ने छ ।

तर बन्ने टुंगो छैन । सरकारले कोरोनाको जोखिम अझै बढ्ने चेतावनी दिइरहेको छ तर समयमै अक्सिजन प्लान्ट निर्माण नहुने हो भने समस्या हुने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *