कला/मनोरञ्जन

नेपाल भाषाको चलचित्र ‘जा मन गुभाजु’ निफ अवार्डमा बन्यो उत्कृष्ट

हिमालय टिभी
२०७८ भदौ ९ गते १५:१७
नेपाल भाषाको चलचित्र ‘जा मन गुभाजु’ निफ अवार्डमा बन्यो उत्कृष्ट

न्यूयोर्क। नेपाल भाषाको चलचित्र ‘जा मन गुभाजु’ नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाको आयोजनामा न्यूयोर्कमा सम्पन्न भएको नेपाल आदिवासी चलचित्र अवार्ड (निफ) को उपाधि जित्न सफल भएको छ।

अमेरिकाको न्यूयोर्कमा अगष्ट २१ र २२ गतेसम्म भएको महोत्सवमा विभिन्न भाषाका सात वटा चलचित्रलाई पछि पार्दै ‘जा मन गुभाजु’ले अवार्ड हात पारेको हो ।

यसले उत्कृष्ट अवार्डसँगै उत्कृष्ट पटकथा र उत्कृष्ट अभिनेताको पुरस्कार पनि हात पारेको छ। पुरस्कृत नेपाल भाषाको चलचित्रले अवार्डसहित १ हजार १ सय ११ डलर नगद पुरस्कार पनि जितेको छ। नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङ र न्युयोर्कस्थित नेपाली महावाणिज्यदूत विष्णुप्रसाद गौतमले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरे।

अवार्ड वितरण समारोहमा उत्कृष्ट चलचित्रसहित विभिन्न १० विधामा पुरस्कार वितरण गरिएको थियो। सो क्रममा उत्कृष्ट नायिकामा मगर भाषाको चलचित्र ट्याङचालकका नायिका तिला मगरले अवार्ड जितेकी छन् भने लिम्बू जातिको के चलचित्रले उत्कृष्ट कथा, ह्योल्मो जातिको मेटोकले उत्कृष्ट छायाँकन र दर्शक रोजाईको पुरस्कार जितेको छ।

यसैगरी तामाङ जातिको प्रङ्ना चलचित्रलाई उत्कृष्ट भेषभुषा पुरस्कार र गुरुङ जातिको चलचित्र मि होर्वै टले उत्कृष्ट संगीत र उत्कृष्ट निर्देशनको अवार्ड हात पारेका छन् ।

फिप्नाले २०१७ देखि यो महोत्सव शुरु गरेको हो भने यो तेश्रो आदिवासी चलचित्र महोत्सव हो। विश्व आदिवासी दिवसको अवसर पारेर फिप्नाले खेलकूद, साँस्कृतिक कार्यक्रमसँगै चलचित्र महोत्सव गरेको हो।

नेपालका आदिवासी चलचित्रकर्मीहरुलाई प्रोत्साहन गर्दै नेपालका आदिवासी चलचित्रहरु जो मूलधार र राज्य हतोत्साहित भएका छन्, ती चलचित्रहरुलाई अन्तर्राष्ट्रिय बजारमा पुर्याउँदै प्रोत्साहन गर्ने उद्देश्य फिप्नाले लिएको छ।

क्वीन्सको गुल्सन टेरेशमा एक समारोहबीच गरिएको अवार्ड वितरण कार्यक्रममा आफ्नो भेषभुषासहित विभिन्न जातजातिका व्यक्तिहरुको उपस्थिति रहेको थियो भने कार्यक्रममा विभिन्न जातजातिको कला र संस्कृति झल्किने झाँकी तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो।

कार्यक्रममा गायक राजु लामा र जगदीश समालको विशेष प्रस्तुति रहेको थियो। कार्यक्रमका संयोजक तथा फिप्नाका महासचिव नरेन्द्र थापाले महोत्सवलाई सफल बनाउन सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई विशेष धन्यवाद दिंदै आगामी दिनमा महासंघले थप सशक्त कार्यक्रम लिएर आउने बताए।

कार्यक्रमको पहिलो र दोश्रो दिन छनौटमा परेका चलचित्रहरु प्रदर्शनमा राखिएको थियो। जसमा न्यूयोर्कमा रहेका नेपाली दर्शकहरुको उल्लेख्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *