राष्ट्रिय क्रिकेट टोली आज ओमान प्रस्थान

८ भदौ २०७८ काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमान प्रस्थान गरेको छ ।
आईसीसी विश्वकप क्रिकेट लीग–टु अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एक दिवसीय श्रृंखलाका लागि नेपाली टोली त्यसतर्फ लागेको हो ।
टोली बिहान ८ बजे सलाम एयरबाट ओमान गएको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । ओमान भ्रमणका लागि क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा १७ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।
बलर गुलशन झा पहिलो पटक राष्ट्रिय टोलीमा परेका छन् । नेपाल, ओमान र अमेरिकाबीचको श्रृंखला यही भदौ २८ देखि असोज ४ गतेसम्म आयोजना हुनेछ । खेल तालिका भने सार्वजनिक भएको छैन ।
श्रृंखला अघि नेपालले पपुवा न्युगिनीसँग दुई एक दिवसीय खेल खेल्नेछ । नेपालले पहिलो खेल भदौ २० र दोस्रो खेल भदौ २३ मा खेल्ने क्यानले जनाएको छ ।
यस अघि लीग–टु अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ वटा खेल खेलिसकेको छ । जसमा नेपालले अमेरिकालाई दुई खेलमा हराएको थियो भने ओमानसँग दुबै खेलमा पराजित भएको थियो ।
लीगमा नेपाल ४ खेलबाट ४ अंक जोड्दै छैटौं स्थानमा छ । ओमान १० खेलबाट १६ अंकसहित शीर्ष स्थानमा छ ।
यसअघि हिजो मात्रै नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको थियो ।
प्रतिक्रिया