समाज

विद्यालयसँगै ट्रान्सफरर्मर र छतमै बिजुलीको तार, विद्यार्थी र अभिभावकमा त्रास (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ७ गते १४:३३
विद्यालयसँगै ट्रान्सफरर्मर र छतमै बिजुलीको तार, विद्यार्थी र अभिभावकमा त्रास (भिडियो रिपोर्टसहित)

७ भदौ २०७८ रुपन्देही । विद्युत प्राधिकरणले भवन नजिकै तार टाँगेपछि रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर २ मा रहेको एउटा विद्यालय जोखिममा परेको छ ।

विद्यालय भवनको छत ढलान गर्ने क्रममा करेन्ट लागेर एक मजदुर घाइते भइसकेका छन् । अब सचेतना नअपनाए ठुलै दुर्घटना हुने जोखिम छ ।

यो २००७ सालमा स्थापना भएको रुपन्देहीको मर्चवारी गाउँपालिका वडा नम्बर २ मा रहेको अमवाँ माध्यमिक विद्यालय हो । गत असार १४ गते विद्यालयको नयाँ भवनको छत ढलान हुँदै थियो ।

छत ढलानका क्रममा मजदुर दिनेश केवटलाई एक्कासी करेन्ट लाग्यो र देव्रे हात नै जल्यो । उपचार गर्दा ४ लाख रुपैंया खर्च भइसक्यो । तर केवटको हातले काम गर्दैन । अझैं उपचार गर्नु पर्ने छ, तर केवटले कतैबाट राहत पाउनु भएको छैन ।

नेपाल विद्यु्त प्राधिकरणले विद्यालयसँगै सटाएर प्रशारण लाइन टाँगेको छ । यहीबाट मजदुर केवटलाई करेन्ट लागेको हो । विद्यालयकै भवनमा बिजुलीको पोल गाडिएको छ ।

छतबाट सजिल्यै छुन सकिने गरी प्रशारण लाइन टाँगिएको छ । अझैं विद्यालयसँगै ट्रान्सफरर्मर राखिएको छ । अहिले विद्यालय बन्द छ । विद्यालय सञ्चालनमा आए ठुलै दुर्घटना हुन सक्ने जोखिम छ । यसले गर्दा अभिभावक समेत त्रसित छन् ।

अमवाँ विद्यालयमा अहिले गाउँपालिकाको ४६ लाख रुपैयाँमा ४ कोठे र राष्ट्रपति शैक्षिक सुधार योजनाको १८ लाख बजेटबाट २ कोठे भवन बन्दै छ । यहि भवन माथिबाट विजुलीको लाईन टाँगिएको छ ।

तत्कालिन माओवादी सशस्त्र द्वन्द्वकालमा अन्यत्र सार्ने गरी विद्यालयको प्राङ्गण हुँदै विद्युत प्रशारणको लाइन टाँगियो । विद्यालयले पटक पटक पत्राचार गर्दासमेत नेपाल विद्युत प्राधिकरण भैरहवा शाखाले प्रशारण लाइन सार्नका लागि कुनै सुनुवाइ गरेन । तर विद्यालय र गाउँपालिकाले जोखिमका बीच भवन निर्माणको काम शुरु गर्‍यो ।

छत ढलानका क्रममा विद्युत प्राधिकरणले उल्टै तारमा प्लाष्टिक बेरेर छतमा नै पोल गाडेर बिजुलीको तार टाँग्यो । प्राधिकरणको कच्चा काम र जोखिमलाई बेवास्ता गर्दै भवन निर्माण गर्दा एक मजदुर घाइते भए भने विद्यालय नै अहिले जोखिममा परेको छ ।

विद्युत प्राधिकरणको कच्चा काम र विद्यालयको आग्रहलाई बेवास्ता गर्दा जोखिम बढेको हो । यसरी जोखिमका बीच विद्यालयको नयाँ भवन बनाउनुमा विद्यालय व्यवस्थापन समिति र गाउँपालिकाको पनि दोष देखिन्छ । अब प्रशारणको लाइन सारे मात्र विद्यालय सुरक्षित हुन्छ । यसका लागि स्थानीय, विद्यालय, गाउँपालिका र विद्युत प्राधिकरणले ध्यान दिन आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *