समाज

स्याङ्जामा अफलाइन एप्सबाट शुरु भयो पढाइ (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ६ गते २०:४४
स्याङ्जामा अफलाइन एप्सबाट शुरु भयो पढाइ (भिडियो रिपोर्टसहित)

६ भदौ २०७८ स्याङ्जा । कोरोना संक्रमणको समयमा अध्ययन अध्यापनमा सहज गराउने भन्दै स्याङ्जाको एक विद्यालयले अफलाइन एप्स शुरु गरेको छ ।

गण्डकी प्रदेशका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेखलाल श्रेष्ठले एप्सको शुभारम्भ गर्नुभयो ।

कोरोना महामारीको संक्रमणबाट जोगिन देशभरका सबैजसो विद्यालयले अनलाइन कक्षा लिइरहेका छन् । शहरी क्षेत्रमा अनलाइनको पढाइ केही प्रभावकारी भए पनि ग्रामीण क्षेत्रमा अनलाइन पढाइ प्रभावकारी छैन ।

त्यसैले इन्टरनेट र बिजुलीको पहुँच राम्रो नभएका ठाउँमा पढाउन अफलाइन मोबाइल एप्सको पनि प्रयोग गर्न थालिएको छ । स्याङ्जाको भिरकोट नगरपालिकाको दहथुम माध्यमिक विद्यालयमा अफलाइन एप्सबाटै पढनपाठन शुरु गरिएको छ ।

कोरोना कहरका कारण डेढ वर्षदेखि विद्यार्थीले विद्यालयमा उपस्थित भएर पढ्न पाएका छैनन् । यसले विद्यार्थीको पढाइमा धेरै नै असर गरेको छ । त्यसैले गण्डकी प्रदेश सरकारले आफ्नो प्रदेशका सबै सामुदायिक विद्यालयमा ६ देखि १२ कक्षासम्म अफलाइन शिक्षा लागु गर्ने तयारी गरेको छ ।

अफलाईन प्रविधि एप्सको समन्वय गरेको संस्था प्रज्ञान दृष्टि एजुकेशन प्रालिले नियमित इन्टरनेट उपलब्ध हुन नसक्ने ठाउँमा यो शिक्षा प्रभावकारी हुने जनाएको छ ।

विद्यार्थीले इन्टरनेट सेवा भएको ठाउँमा पुगेका बेलामा वा स्लो इन्टरनेट भएका बेलामा एप्सबाटै आफूलाई नआएका कुरा सोध्न पनि सक्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *