समाज

धादिङमा चेपाङ समुदायका किशोरीका लागि सुविधा सम्पन्न छात्राबास (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ६ गते १६:४३
धादिङमा चेपाङ समुदायका किशोरीका लागि सुविधा सम्पन्न छात्राबास (भिडियो रिपोर्टसहित)

६ भदौ २०७८ धादिङ । सीमान्तकृत चेपाङ समुदायका किशोरीका लागि धादिङको गजुरीमा सुविधा सम्पन्न छात्राबास निर्माण गरिएको छ । यसबाट आर्थिक अवस्था कमजोर भएका, आमाबुवा नभएका किशोरीको पठनपाठन सहज हुने अपेक्षा गरिएको छ ।

छाक टार्नै समस्या भएका चेपाङ परिवारका बालबालिकालाई शिक्षादिक्षा दिनु ठूलो चुनौति छ । अझ छात्राबासमा राखेर पढाउने त चेपाङका छोराछोरीले कल्पनासम्म पनि गर्न सक्दैनन् । तर अब भने चेपाङ किशोरीहरुले शिक्षा लिन मात्रै नपाएर छात्राबासमै बसेर आफ्नो पठनपाठन अगाडी बढाउन पाउने भएका छन् ।

त्यो पनि अत्याधुनिक र सुविधा सम्पन्न छात्राबासमा बसेर । चेपाङ किशोरीका लागि गैरसरकारी संस्था प्रयास नेपाल, गजुरी गाउँपालिका, जिल्ला सम्वन्य समिति लगायतका संघ संस्थाको प्रयासमा गजुरी गाउँपालिका वडा नम्बर १ स्थित हाँगेटारमा छात्राबास निर्माण गरिएको छ । यो छात्राबासमा ३६ जना किशोरी राखिने छ ।

त्यसो त केही किशोरीलाई यसअघि नै छात्राबासमा राखेर पढ्ने व्यवस्था मिलाइएको थियो । तर त्यसमा सुविधा थिएन ।

छात्राबासमा किशोरीका लागि ६ वटा कोठा, भान्सा कोठा, पढ्नको लागि हललगायतका सुविधा उपलब्ध छन् । छात्राबासमा बस्ने किशोरीहरु आमाबुवा बिहिन छन् । सुविधा सम्पन्न छात्राबास पाएपछि पठनपाठनमा थप सहज भएको उनीहरुको प्रतिक्रिया छ ।

पाँच रोपनी क्षेत्रफलमा फैलिएको छात्राबास एक करोड २० लाख रुपैयाँमा बनाइएको हो । छात्रावास निर्माणमा खर्च भएको रकम प्रयास नेपालको पहलमा जम्मा गरिएको हो भने छात्राबास सञ्चालनमा लाग्ने नियमित खर्च गजुरी गाउँपालिकाले व्यहोर्ने छ ।

छात्राबासमा बसेर पढ्ने किशोरी छात्राबास उपलब्ध गराउने संघसंस्थाप्रति आभारी छन् । र उनीहरु राम्रो पढ्ने र असल नागरिक बन्ने लक्ष्यमा छन् ।

धादिङ्गका चेपाङ समुदायको अवस्था अत्यन्तै दयनीय छ । आफ्नै जमिनमा उब्जिएको अन्नले अधिकांशलाई ३ महिना पनि खान पुग्दैन । उनीहरुले ज्यालमजदुरी गरेर पेट पाल्दै आएका छन् । यस्तो अबस्थामा सुविधा सम्पन्न
छात्राबासले चेपाङ समुदायका किशोरीलाई शिक्षा हासिल गर्न सहज बनाएको छ ।

भिडियो रिपोर्ट हेर्न यो लिङ्कमा क्लिक गर्नुहोला

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *