समाज

जनकपुरको कोभिड विशेष अस्पतालमा भवन नबन्दै बिरामीको उपचार शुरु (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ६ गते १५:१८
जनकपुरको कोभिड विशेष अस्पतालमा भवन नबन्दै बिरामीको उपचार शुरु (भिडियो रिपोर्टसहित)

६ भदौ २०७८ धनुषा । प्रदेश २ सरकारको महत्वकांक्षी आयोजना मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनकपुरधाममा सञ्चालनमा ल्याएको कोभिड विशेष अस्पतालमा कोरोना विरामीहरुको उपचार हुन थालेको छ ।

कोभिड र पोष्ट कोभिड दुवै बिरामीको उपचार भइरहेको अस्पतालमा सबै सुविधा रहेको दावी प्रतिष्ठानको छ ।

प्रदेश २ का नागरिकलाई सहज र शुलभ स्वास्थ्य सेवा दिने उद्देश्यले स्थापना गरिएको मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानले आफ्नो भवन नपाउँदै विभिन्न महत्वकांक्षी काम थालेको छ ।

प्रादेशिक अस्पताल जनकपुरधामकै एक समान्य भवनमा काम थालेको प्रतिष्ठानले जनकपुरधाममा मनिपाल शिक्षण अस्पतालका लागि बनेर प्रयोगविहीन भएको भवनमा कोभिड विशेष अस्पताल सञ्चालन गरेको छ । जहाँ अहिले कोरोना संक्रमितको उपचार हुन थालेको छ ।

दुई महिनाको समयमा नै सेवा प्रदान गर्न थालेकाले केही कमीकमजोरी छन् र पूर्वाधारको अरु धेरै काम पनि बाँकी छ । अस्पतालले यी सबै कमी कमजोरीहरु पनि छिट्टै समाधान गरिने बताएको छ । बिरामीका कुरुवाहरुले पनि उपचारबाट सन्तुष्ट रहेको प्रतिक्रिया दिएका छन् ।

२०७७ कार्तिक २५ गते प्रदेश सरकारको मन्त्रिपरिषदबाट स्थापना भई राजपत्रमा उल्लेख भएको प्रतिष्ठानमा २०७७ माघ १८ गते उपकुलपतिसहितका पदाधिकारी नियुक्त गरिएको थियो । छोटो समयमै आफ्नो कार्यालय भवनबिना नै एक सय शैयाको कोभिड विशेष अस्पताल सञ्चालन हुनु र चार वटा विषयमा अध्यापनको स्वीकृति पाउनुलाई प्रतिष्ठानले ठुलो उपलब्धी मानेको छ ।

२०७७ फागुन ५ मा प्रादेशिक अस्पतालकै एक पुरानो भवनमा कार्यालय सञ्चालनमा ल्याएर काम थालिएको प्रतिष्ठान २०७८ अषाढ ३ मा कोभिड विशेष अस्पताल सञ्चालन गर्न सफल भएको छ । बिएससी नर्सिङ्ग, बिएन नर्सिङ्ग, बिपिएच पब्लिक हेल्थ र बिएमएलटी विषयमा अध्यापनको स्वीकृती समेत एकैपटक पाइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *