समाज

अझै पनि यस्तो त्रासमा छन् मृतकका परिवार (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ५ गते १७:०७
अझै पनि यस्तो त्रासमा छन् मृतकका परिवार (भिडियो रिपोर्टसहित)

५ भदौ २०७८ बाँके । बाँकेको नेपालगञ्जसँगैको बनियाँ गाउँका बासिन्दाबीच झडप हुँदा पोहोर साल एक जनाको मृत्यु भयो । त्यसपछि प्रहरीले गाउँका २४ जनालाई मुद्दा चलायो । १६ जना धरौटीमा छुटे । धरौटीमा छुटेकाका परिवारले अहिले पनि मृतकका परिवारलाई धम्की दिने गरेका छन् ।

२०७७ कार्तिक १५ गते गाउँले बिचको झडपमा नेपालगन्जसँगै जोडिएको बनिया गाउँका धनिराम अहिरको मृत्यु भयो । घटनामा संलग्न रहेको अभियोगमा बाँके प्रहरीले १७ जनामाथि कर्तब्य ज्यान र ७ जनालाई ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा चलायो ।

कर्तब्य ज्यान मुद्दाका ५ र ज्यान मार्ने उद्योगका २ जना गरी ७ जना जिल्ला अदालत बाँकेको आदेश पछि पुर्पक्षका लागि कारागारमा छन् । १६ जना धरौटीमा छुटे । ज्यान मुद्दा लागेर धरौटीमा छुटेकाहरुले अहिले पनि ज्यान मार्ने धम्की दिने गरेको मृतकका परिवारको गुनासो छ ।

अभियुक्तविरुद्ध उच्च अदालत नेपालगन्जमा मुद्दा चलिरहेको छ । तर तिनै अभियुक्तका परिवारले आक्रमण गर्ने डरले धनिरामका परिवारका सदस्य आफ्नै घरमा पनि ढुक्कसँग बस्न सेका छैनन् ।

२०७७ कार्तिक पूर्णिमाका दिन गाउँमा लागेको मेलामा मृतक अहिरका छोराको गाउँकै अन्य युवासंग झगडा भयो । झगडा पछि छोरा भागे । आक्रोशित युवाहरुले भैसी चराएर फर्कँदै गरेका धनिरामलाई मरणासन्न हुने गरी कुटपिट गरे ।

उपचार कै क्रममा धनिरामको मृत्यु भयो । गाउँलेको कुटपिटबाट धनिरामको मृत्यु भए पछि गाउँमा तनाव भयो । एक सातासम्म ठुलो संख्यामा प्रहरी तैनाथ गरेर घटनालाई साम्य पार्ने प्रयास गरियो । अहिरको मृत्यु पछि काजक्रिया र मुद्दा मामिलामा मात्रै करिब १२ लाख खर्च भइसकेको छ । अझै कति खर्च हुने हो यकिन छैन ।

घटनामा संलग्न भएको आरोपमा मुद्दा दर्ता भएपछि मृतकका आफन्तबाट आक्रमण हुन सक्ने डरका कारण बनिया गाउँका ४ परिवार गाउँबाटै विस्थापित भएका छन् । घटनामा संलग्न नभएकालाई पनि पुरानो रिसइबीका कारण फसाइएको गुनासो उनीहरुको छ ।

बर्षौ देखि मिलेर बसेका गाउँलेहरुबीच राजनीतिक खिचातानीको विवाद चर्किएर एक जनाको ज्यानै गएपछि गाउँको सदभाव नै खल्बलिदै गएपछि गाउँका जेष्ठ नागरिक पनि चिन्तित छन् ।

दोषीलाई कारबाही र पीडितलाई न्याय गरी पहिलेकै अवस्थामा गाउँलाई फर्काउने वातावरण बनाउन स्थानीय बासिन्दाले आग्रह गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *