समाज

मिथिलाञ्चलमा शुरु भयो झुलन पर्वको यस्तो रौनक (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ५ गते १४:२०
मिथिलाञ्चलमा शुरु भयो झुलन पर्वको यस्तो रौनक (भिडियो रिपोर्टसहित)

५ भदौ २०७८ धनुषा । मिथिलाञ्चलमा यतिबेला झुलन पर्वको रौनक छ । प्रत्येक वर्ष साउन शुक्ल तृतीयादेखि मनाइने झुलनोत्सव मैथिली संस्कृतिको मौलिक पर्व हो । विशेष गरी मिथिला क्षेत्रमा साउन शुक्ल पक्षभरि यो पर्व मनाइन्छ ।

पौराणिक कालमा मिथिलाका अराध्यदेव सीताराम दैनिक रुपमा झूला झूल्ने गरेका थिए । त्यसैको सद्भावका रुपमा झुलन पर्व मनाइन्छ । यसमा राधा, कृष्ण, सीता रामको मन्दिरमा पूजापाठ गरी प्रतिमा झुलामा राखेर झुलाउने गरिन्छ।

यो पर्वका लागि लागि जनकपुरधामका मठ मन्दिर सिंगारिएका छन् । मन्दिर अगाडि झुला बनाई सीताराम, राधाकृष्णको मूर्ति राखेर झुलाउने गरिएको छ । यो पर्व द्वापरकालदेखि नै मनाउँदै आएको जनविश्वास छ ।

झुलन पर्व हेर्न नेपालका साथै भारतबाट पनि श्रद्धालु जनकपुर आउने गर्थे । तर कोरोना कहरका कारण यसवर्ष चहल पहल छैन । धनुषा, महोत्तरी, सर्लाहीका साथै भारतको विहार सहित मिथिलाञ्चल क्षेत्रमा १५ दिनसम्म यो पर्व मनाइन्छ ।

जहाँ जहाँ सिता राम र राधाकृष्णको मन्दिर छ, त्यहाँ त्यहाँ यो पर्व मनाइन्छ ।

जनश्रुति अनुसार सीताको माईतीमा दाईजोका रुपमा प्राप्त मणि महलमा राख्ने ठाउँ नपाई बाहिर राख्दा पहाड नै भएको थियो । त्यसैको स्मृति स्वरुप झुला उत्सवको प्रारम्भमा रंगभूमिमा पनि मणिपर्वत मनाउने परम्परा छ ।

झुलन पर्व समापनको दिन पूर्णिमामा रक्षाबन्धन हुने गर्दछ । तर जनकपुरधामको सुन्दर–सदनमा अरु ठाउँ भन्दा तीन दिन बढी झूलापर्व मनाउने परम्परा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *