समाज

कोरोना जोखिमको बेवास्ता, सरकारी कार्यालयहरुमा यस्तो भीड (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ भदौ ४ गते १८:३६
कोरोना जोखिमको बेवास्ता, सरकारी कार्यालयहरुमा यस्तो भीड (भिडियो रिपोर्टसहित)

४ भदौ २०७८ दाङ । कोरोना संक्रमणको जोखिमलाई बेवास्ता गर्दै सरकारी कार्यालयमा सेवाग्राहीको भीड लाग्ने गरेको छ ।

स्वास्थ्य मापदण्ड पालना गरी सेवा दिन भनेर खुलेका कार्यालयमा बढ्दो भीडले संक्रमणको जोखिम बढाएको छ । दाङ र चितवनका सरकारी कार्यालको अवस्था अहिले त्यस्तै छ ।

यो दृष्य नेपाल विद्युत प्राधिकरण दाङको घोराही वितरण केन्द्रको हो । यहाँ बिजुलीको पैसा तिर्नेको भीड छ । एकातिर कोरोनाको उच्च जोखिम र अर्कोतिर कार्यालयले दिएको अनलाइन सुविधा दुवैप्रति उनीहरुको चासो देखिन्न । बरु कार्यालयले भिड व्यवस्थापन गर्न नसकेको र समयमै काम नगरिदिएको गुनासो छ उनीहरुको ।

अनलाइन सेवा शुरु गरे पनि सेवाग्राही कार्यालयमै आएर महशुल बुझाउन लाइन लाग्दा भीड बढेको छ ।

भूमिसुधार तथा मालपोत कार्यालयमा पनि उस्तै भीड छ । समयमा काम नगरिदिने सरकारी परिपाटीले जोखिम झनै बढेको सेवाग्राहीको गुनासो छ । तर दरबन्दी अनुसारका कर्मचारी नहुँदा समयमै काम गर्न नसकिरहेको कार्यालयको तर्क छ ।

नापी, यातायात, राजश्व, बैंक सबैजसो कार्यालयमा भीड छ । बढ्दो भीडका कारण चेतनामूलक कार्यक्रम र कारबाही सँगसँगै अघि बढाउने तयारी जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रले गरेको छ ।

दाङकै जस्तो अवस्था चितवनमा पनि छ । सबैजसो सरकारी एवम् बैंक तथा वित्तिय संस्थामा सेवाग्राहीको भीड देखिन्छ । मालपोत कार्यालयमा बारअनुसारको सेवा दिने भनिए पनि दैनिकजसो सयौँ सेवाग्राही आउने गरेका छन् ।

भिडभाड नगर्न जिल्ला प्रशासन कार्यालयले पटकपटक आग्रह गर्दै आएको छ । त्यसो त निषेधाज्ञा नै जारी रहेको अवस्थामा सेवाग्राही आफै सचेत बनून् भन्ने जिल्ला प्रशासन कार्यालयको अपेक्षा छ ।

तर सेवाग्राहीको चाप नरोकिएको जिल्ला प्रशासन कार्यालय, चितवनका सूचना अधिकारी गोविन्द पौडेल बताउनु हुन्छ । भीड बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय जोखिम न्यूनीकरणका लागि थप उपायको खोजीमा छ।

कोरोना संक्रमणको तेस्रो लहर चल्दै गर्दा सबैतिर लापरबाही पनि बढ्दै गएको देखिन्छ । सर्वसाधारण आफै सचेत नहुने र सरोकारवाला निकायहरु पनि मौन बस्ने हो भने फेरि कोरोनाको मारमा फेरि पनि पिल्सिनु पर्ने अवस्था अवश्यम्भावी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *